
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएल-२०२५ को पहिलो साता टीयू मैदान उत्साहको केन्द्र बन्यो ।
सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स पहिलो साता अपराजित रहँदा लुम्बिनीविरूद्ध मार्क वाटले प्रहार गरेको शतकले प्रतियोगितामा नयाँ ऊर्जा भरेको छ । दर्शकको उत्साह, टिकट सोल्डआउट र फ्लडलाइटले खेल थप रोमाञ्चक बनायो । तर अम्पायरिङका विवादास्पद निर्णयले आलोचना बढेको छ । दोस्रो साता ११ खेलसहित प्रतिस्पर्धा झनै चर्कंदै जाने स्पष्ट देखिएको छ ।
सोमबारबाट सुरू भएको प्रतियोगितामा आठ खेल सकिँदासम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स अपराजित छन् । दुबै टोलीले २-२ जित हात पार्दै प्रारम्भिक चरणमै आफूलाई बलियो दाबेदारका रूपमा स्थापित गरिसकेका छन् । पोखरा एभेन्जर्सका लागि पहिलो साता भने निराशाजनक रह्याे । सुरूवाती दुई खेलमै हार बेहोर्दा टोली दबाबमा परेको छ । अहिलेसम्म एक खेलमात्र खेलेको साविक विजेता जनकपुर बोल्ट्स पहिलो जितको खोजीमा छ ।
समान ४ अंक भए पनि नेट रनरेटका आधारमा सुदूरपश्चिम शिखरमा छ भने विराटनगर किङ्स दोस्रो स्थानमा रहेको छ । तीन खेलमा एक जित हात पारेको काठमान्डु गोर्खाज तेस्रो स्थानमा छ । लुम्बिनी, चितवन र कर्णाली २-२ अङ्कका साथ क्रमशः चौथो, पााचौँ र छैटौँ स्थानमा छन् । एक मात्रै खेल खेलेको जनकपुर विना कुनै अंक सातौँमा र लगातार २ हार बटुलेको पोखरा एभेन्जर्स अन्तिम स्थानमा छ ।
मार्क वाटको आक्रामक शतक पहिलो साताको सबैभन्दा चर्चित क्षण बन्यो । लुम्बिनी लायन्सविरूद्ध ४४ बलमा १ सय १४ रनको विस्फोटक इनिङ्स खेल्दै उनले कर्णाली समर्थकलाई सेलिब्रेसनको अवसर दिए । एनपीएल इतिहासकै व्यक्तिगत उच्च स्कोरको कीर्तिमान स्थापित गरेका वाटले १२ छक्का प्रहार गर्दै एनपीएलको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाए । यस्तै, करण केसीले ३ खेलमा ६ विकेट लिएका छन् । कुशल भुर्तेल र रवी बोपाराले समान २-२ अर्धशतक प्रहार गरेका छन् ।
तर अम्पायर र टिभी अम्पायरका लगातार विवादास्पद निर्णय, विदेशी अम्पायरको उपस्थितिमा पनि बढ्दै गएको त्रुटिले खेलाडी र प्रशिक्षक दुवै असन्तुष्ट देखिएका छन् । उद्घाटनसँगै शुक्रबार र शनिबारका टिकट 'सोल्डआउट' हुनुले एनपीएलको लोकप्रियता ह्वातै बढेको स्पष्ट पारेको छ ।
फ्लडलाइटको उज्यालोमा, प्यारापिटमा बस्दै रातको खेल हेर्न पाउनु धेरै समर्थकका लागि नयाँ, रोमाञ्चक र जीवन्त अनुभव बन्यो । डे-नाइट खेललाई सहज बनाउने उद्देश्यले क्यान र युवा तथा खेलकुद मन्त्रालयले उपलब्ध गराएको निःशुल्क बस सेवाले समर्थकलाई ठूलो राहत मिल्यो ।
टीयू परिसरमा व्यापार-व्यवसायको चहलपहल पनि बढ्दै गएको छ । एनपीएलको मौका छोप्दै र उद्यमीहरूले आफ्नो सामान र सेवाको बजार विस्तार गरिरहेका छन् । तर दर्शकले स्टेडियममा खानेपानी र शौचालय अभाव भोगेका छन्, जसलाई व्यवस्थापनले आगामी दिनमा सुल्झाउनुपर्ने देखिन्छ ।
एनपीएल २०२५ को दोस्रो साता ११ खेल हुनेछन् । सात दिनमध्ये चार दिन 'डबलहेडर' रहनेछ भने बाँकी दिन एक-एक खेल मात्र हुनेछ । प्रतियोगिताअघि बढ्दै गर्दा खेलको रोमाञ्चकता र दर्शकको उपस्थितिसँगै प्रतिस्पर्धाको स्तर पनि निश्चित रूपमा बढ्ने छ ।