
काठमाडौं । इंग्लिस प्रिमियर लिग-इपीएलमा आइतबार राति सवा १० बजे उत्तर लन्डन डर्बीमा अर्सनल र टोटेनह्याम आमनेसामने हुनेछन्।
यो खेल रोमाञ्चक र रणनीतिक बन्नसक्ने खेलाडीको उपस्थितिले संकेत गरेको छ। अन्तर्राष्ट्रिय ब्रेकपछिको यो खेलले प्रिमियर लिगको शीर्ष चारमा नयाँ समीकरणसमेत बनाउन सक्नेछ। इपीएलमा एकपछि अर्को जीत, क्लिन-सिट र उत्कृष्ट फर्ममा अघि बढिरहेपछि आर्सनल अहिले लिगको शीर्षस्थानमा छ। तर अन्तर्राष्ट्रिय ब्रेकअघि नै सन्डरल्यान्डसँग बराबरीमा रोकिएपछि उसको फर्मलाई लिएर समर्थक आशंकित पनि छन्।
यद्यपि आर्सनल दोस्रो स्थानको चेल्सीभन्दा चार अंकले अघि छ। गएरातिको खेलमा सिटी पराजित भएपछि उसले अझै शीर्षस्थानमा स्पष्ट तीन अंकको अग्रता जोगाएको हो। आर्सनलका धेरै खेलाडीलाई चोटको समस्या छ। यस्तोमा अन्तर्राष्ट्रिय ब्रेकबाट निराश भएको टोलीका लागि राहतको समय मानिन्छ। जहाँ खेलाडीले रिकभरीको समय पाउँछन्। तर आर्सनलका लागि भने ब्रेकपछि बायर्न म्युनिख र चेल्सी जस्ता कडा प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने छ।
यस्तोमा उसले खेल्न लागेको टोटेनहम निकै बलियो विपक्षी हो। लन्डन डर्बीको यो खेल दुवै टिमका लागि दबाब हुनेछ । जारी सिजनमा आर्सनलसँग घरेलु मैदानमा एक मात्र गोल खाएको उत्कृष्ट रेकर्ड छ। आइतबार राति उसले टोटनह्यामलाई स्वागत गर्दैछ। टोटेनह्यामले भने अवे मैदानमा ५ खेलमा १३ अंक जोडेको छ। यस्तोमा उसलाई क्लिन सिट राख्दै जित निकाल्ने योजना ठूलै महत्वाकांक्षा हुनेछ।
यता, पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडका म्याथिज डि लिग्टको हेडरले टोटनह्यामलाई अंकमा घाटा लागेको छ। त्यसैले आइतबार टोटेनह्याम बलियो टोलीविरूद्ध अंक खोस्ने योजनासाथ अघि आउनेछ। यसअघि चेल्सीसँगको १-० को निराशाजनक हारका बीच टोटनह्यामले यस सिजन गोल स्कोरिङमा खास प्रभाव देखाउन सकेको छैन । यता, उत्तर लन्डन डर्बीमा आर्सनलको पकड अझै बलियो छ।
सन् २०२२ मा टोटनह्यामले घरेलु मैदानमा जितेपछि भएका ६ मध्ये ५ खेल आर्सनलले जितेको छ। तर आर्सनलको डिफेन्डर गेब्रियल चोटका कारण बाहिर छन्। इटालीका रिक्कार्डो कालाफियोरी मैदान फर्किन ढिला हुने भएको छ। मार्टिन ओडेगार्ड, हाभट्र्ज, मार्टिनेली र ज्योकेरेसको फिटनेसबारे पनि प्रशिक्षक मिकेल आर्टेटाले स्पष्ट जवाफ दिएका छैनन्।
यता, टोटनह्यामले भने चोट व्यवस्थापनमा राहत पाएको छ। लिगका लागि ८ खेलाडी फिट भएको घोषणा गर्दै प्रशिक्षक थोमस फ्रयांकले पाप सार, लुकास बर्गभल र रान्डल कोलो मुनीको उपलब्धता सुनिश्चित गरेका छन। मोहम्मद कुडुस, कोटा ताकाई, बेन डेभिस र राडु ड्रागुसिन पनि अभ्यासमा फर्किएका छन्।
यद्यपि जेम्स म्याडिसन, डोमिनिक सोलाङ्केलगायत केही महत्वपूर्ण खेलाडी मैदान बाहिर रहनेछन्। इपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हेर्न सकिनेछ।