नक्कली शरणार्थी प्रकरणमा नयाँ रहस्य खुल्दै, शरणार्थीका नेता टेकनाथ रिजाल नै पक्राउ

जेष्ठ ४, २०८० |रमेश धमला
नक्कली शरणार्थी प्रकरणमा नयाँ रहस्य खुल्दै, शरणार्थीका नेता टेकनाथ रिजाल नै पक्राउ

काठमाडौं । ५६ दिनदेखि चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको कारबाही अझै जारी छ । १६ जना पक्राउ परिसकेका छन् भने अझै केही व्यक्तिमाथि पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ। मुद्दा बुझाउने दिन नजिकिँदै गर्दा पनि अनुसन्धानमा खुलेकाहरुलाई प्रहरीले गिरफ्तार गर्ने क्रम जारी नै राखेको छ । त्यसैको परिणाम स्वरुप भुटानी शरणार्थीका सर्वोच्च नेता टेकनाथ रिजाल पनि पक्राउ परेपछि मुद्दाले थप जटिल मोड लिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको अनुसन्धानलाई प्रहरीले थप तीव्रता दिएको छ । बुधबार १४ जनालाई तीन दिनको म्याद लिएको प्रहरीले बिहीबार भुटानी शरणार्थीका सर्वोच्च नेता मानिँदै आएका टेकनाथ रिजाललाई नियन्त्रणमा लिएको हो । नेपाल सरकारले मासिक एक लाख रुपैयाँ, गाडी र एक जना सुरक्षाकर्मीसमेत दिएर राखेका रिजालको गिरफ्तारी शरणार्थी मुद्दाको निकै जटिल परिस्थिति हो ।

गृह स्रोतका अनुसार ४ सय २९ जना नक्कली भुटानी शरणार्थीलाई प्रमाणीकरण गर्ने क्रममा रिजालको पनि संलग्नता देखिएको छ।

कुनै समय भुटानी राजाको सल्लाहकारसमेत रहेका रिजालले भुटानमा विद्रोह गरेपछि लखेटिएका थिए । सन् १९९० तिरै नेपाल आएका रिजालले त्यति बेलादेखिनै शरणार्थीलाई स्वेदश फर्काउने र तेस्रो देश पुनर्स्थापना गराउने अभियान चलाएका थिए । उनै रिजाल शरणार्थी मुद्दामै पक्राउ परेपछि गम्भीर प्रश्न खडा भएको छ ।

त्यस्तै बिहीबार नै प्रहरीले हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरेको छ । विचौलियाले मियाकै सरकारी गाडी प्रयोग गरेर पीडितसँग पैसा असुल गर्ने गरेको खुलेपछि सिंहदरबारबाटै पक्राउ गरिएको हो । बिहीबारसम्म पक्राउ पर्ने १६ जना पुगेका छन् ।

यीबाहेक पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र थापाकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज फरार छन् । थापा हङकङ र राई अमेरिका गएको आशंका छ । फरार भए पनि मुद्दा दायर भएपछि उनीहरुविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने तयारी प्रहरीको छ । प्रहरी स्रोतका अनुसार यही मुद्दामा अन्य ७ जना फरारको सूचीमा छन् ।

शुक्रबारसम्म सम्पूर्णकागजात तयार पारेर सरकारी वकिलको कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । स्रोतका अनुसार, दुई पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहाकार इन्द्रजित राईलाई ठगी, संगठित, सम्पत्ति शुद्धीकरण र किर्तेसँगै भ्रष्टाचार र राज्यविरुद्धको अपराधमा पनि प्रहरीले मुद्दाका लागि सिफारिस गर्ने भएको छ । प्रहरीले गरिरहेको अनुसन्धानमा कुनै दबाब नदिने प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्ट पारेका छन् ।

त्यसो त प्रहरीले जोखिम लिएर गरेको अनुसन्धानलाई परिणाममुखी बनाउन अब सरकारी वकिल कार्यालयको सबैभन्दा ठूलो भूमिका हुनेछ । प्रहरीले सिफारिस गरेको सबै अभियोगमा मुद्दा लैजाने/नलैजाने, कति बलियो मिसिल तयार पार्ने र अदालतमा कस्तो बहस गर्छन् भन्ने विषयमा सरकारी वकिलको भूमिका सबैभन्दा महत्वपूर्ण हुने छ ।

थप...

भुटानी नेता टेकनाथ रिजाल पक्राउ
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा, चढ्ने गाडी मात्रै भेटियो
टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
नक्कली शरणार्थी प्रकरण ‘राज्यविरुद्धको अपराध’ भएको एमालेको ठहर
नक्कली भुटानी काण्डमा पूर्वगृहमन्त्रीसहित को-को मुछिए ?


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।