विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय

काठमाडौं । विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो सम्बन्धमा साेमबार बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो ।

उक्त बैठकमा इजरायली सेनाले साेमबार रिहा हुने बन्दीमा जोशीको नाम समावेश नभएको र उहाँको अवस्था अज्ञात रहेको जानकारी दिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरू भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान–प्रदान गरिएको हो । 

उल्लिखित मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो । यस सन्दर्भमा निजको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत दुई वर्षदेखि विभिन्न तहबाट कूटनीतिक प्रयास गरेको थियो । 

हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने जनाएको छ ।-रासस

यस्तो छ इजरायल–हमास बन्दी आदान–प्रदान र नेपाली नागरिक विपिन जोशीको अवस्था सम्बन्धी परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति

इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि शुरु भएको द्वन्द अन्त्य गर्नको लागि प्रस्तावित ‘Middle East Peace Plan’ को प्रथम चरण अन्तर्गत आज बन्दी आदान-प्रदान भइरहेको जानकारी प्राप्त भएको छ ।

उल्लिखित मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको Learn and Earn कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिन जोशी पनि हमासले रिहा गर्ने बन्दीहरुको सूचीमा रहने अपेक्षा गरिएको थियो । यस सन्दर्भमा निजको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत २ बर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरु गरेको व्यहोरा विदितै छ ।

आज विहान इजरायलको स्थानीय समय अनुसार ७:३० बजे इजरायली सेना (IDF) ले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा निज विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ ।

हमासको कब्जामा रहेका सबै जिवित बन्दीहरुको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पुरा नभएसम्म मन्त्रालयले यस बिषयमा निरन्तर रुपमा जानकारी अद्यावधिक गर्ने व्यहोरा अनुरोध छ ।
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
२०८२ आश्विन २७


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.