काठमाडौं । जेन-जीको एउटा समूहले नागरिक उड्यन प्राधिकरणमा भएका भ्रष्टाचार र अनियमितता छानबिन गर्न माग गरेका छन् ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले अख्तियार र न्यायिक निकायहरुको छानबिनलाई निष्पक्ष ढंगले सहयोग गर्न पनि प्राधिकरण नेतृत्वलाई आग्रह गरेका छन् । हवाई सेवा प्रदायकको मनोमानी रोक्नेदेखि ठेक्कापट्टामा भएका विवरण सार्वजनिक गर्न माग गर्दै उनीहरुले त्यसो गर्न नसके राजीनामा दिन प्राधिकरण महानिर्देशकलाई चेतावनी दिएका छन् ।
जेन-जी युवाहरुले नेपालको नागरिक उड्डयन क्षेत्रमा बढ्दो भ्रष्टाचार, नीतिगत अस्पष्टता र सुरक्षा कमजोरी रहेको उल्लेख गर्दै सुधारका लागि १६ बुादे माग पेस गरेका छन् । उनीहरुले पोखरा, गौतमबुद्ध तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा भएका घोटाला सार्वजनिक गर्न प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई चेतावनी नै दिए ।
हवाई टिकटका सेवा प्रदायकको मनोमानी, विमानस्थलका पार्किङदेखि सेवामा सिण्डिकेट हुँदासमेत प्राधिकरण रमिते बनेको भन्दै उनीहरुले महानिर्देशक अधिकारी र अन्य कर्मचारीलाई र्याखर्याख्ती नै पारे । युवाहरुले २०४७ सालपछि नियुक्त सबै कर्मचारीको सम्पत्ति २१ दिनभित्र सार्वजनिक गर्नुपर्ने, स्रोत नखुलेको सम्पत्ति तत्काल जफत गरी सार्वजनिक गर्नुपर्ने र घोटालाहरुको छानबिनमा अख्तियारलाई सहयोग गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै दुर्गम क्षेत्रमा अनिवार्य उडान सेवा सुनिश्चित गर्न, हवाई रुट थप्न, जेन-जी घाइते तथा सहिद परिवारका सदस्य तथा विद्यार्थीका लागि उडानमा सहुलियत दिन र प्राधिकरणभित्र रहेको ट्रेड युनियन खारेज गर्नसमेत उनीहरुले माग गरेका छन् ।
पोखरा विमानस्थल निर्माणका क्रममा घोटाला भएको संसदीय समितिले ठहर गर्दा समेत कारबाही नभएको भन्दै युवाहरुले प्राधिकरणका महानिर्देशकको राजीनामा माग गरेका छन् । जेन-जीले वायु सेवा विस्तारमा राष्ट्रिय प्राथमिकता निर्धारण गर्नुपर्नेसहित सबै विषय पारदर्शी हुनुपर्ने मागसमेत गरेका छन् ।
जेन-जी युवाहरुले आइतबार पनि नेपाल वायुसेवा निगममा भएका भ्रष्टाचार तथा घोटालाको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहका लागि कदम चाल्न माग गरेका थिए ।