नक्कली भुटानी काण्डमा पूर्वगृहमन्त्रीसहित को-को मुछिए ?

चैत्र २४, २०७९ |रमेश धमला
नक्कली भुटानी काण्डमा पूर्वगृहमन्त्रीसहित को-को मुछिए ?

काठमाडौं । तेस्रो मुलुकमा पुनर्वासपछि शिविरमा बाँकी रहेका भुटानी शरणार्थीलाई व्यवस्थापन गर्ने नाममा गृह मन्त्रालय र त्यहाँकै पदाधिकारीको भूमिका शंकास्पद देखिएको छ । नक्कली शरणार्थी बनाउन बिचौलियाको भूमिका खेल्ने चारजना पक्राउ परे पनि गृहका तत्कालीन पदाधिकारीलाई भने उन्मुक्ति दिने खेल सुरु भएको छ ।

राजनीतिक नेतृत्व र बिचौलियाको प्रभावमा परि स्वयं गृह मन्त्रालयले नक्कली शरणार्थीलाई जारी गरेको परिचयपत्र प्रहरी अनुसन्धानबाट सतहमा आएपछि अहिले घटनमा संलग्न भएको संकित राजनीतिक तथा प्रशासनिक उच्च तहका पदाधिकारीलाई जोगाउने खेल भएको छ ।

गृह मन्त्रालयबाट नककली शरणार्थीको परिचयपत्र पाएकाहरुको एकिन तथ्यांक नभए पनि , रेगन गुरुङ, राम आचार्य, महेश कार्की, टेक मैनालीलगायतले परिचयपत्र पाइसकेका छन् । उनीहरु वास्तविक भुटानी नभएको स्रोतको दाबी छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली भुटानी शरणार्थी बनाउन बिचौलियाको भूमिका खेल्ने केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेकाहरुले नक्कली शरणार्थी थप गर्ने क्रममा गृह मन्त्रालयका तर्फबाट संलग्न व्यक्तिको नाम नभन्ने गरी मुद्दा मिलाउन खोजिएको स्रोतको दाबी छ । शरणार्थी समस्या समाधानका लागि भन्दै २०७६ जेठ ३० मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको समितिले प्रमाणीकरणमा छुटेको भन्दै ४२९ जनालाई सूचीमा समावेश गर्न सिफारिस गरेको थियो ।

त्यसैका आधारमा मन्त्रिपरिषद्‌ले कार्यान्वयनमा लैजाने निर्णय गरेको भन्दै त्यससम्बन्धी जानकारी गृह मन्त्रालयले झापा तथा मोरङका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको देखिन्छ ।

भुटानी शरणार्थी व्यवस्थापनमा गृहको शंकास्पद भूमिका, बिचौलिया पक्राउ परे पनि गृहपदाधिकारीलाई उन्मुक्ति दिने चलखेल

त्यसरी थप भएका ४२९ जना नै नक्कली भएको खुलिसकेको छ । अध्ययन समिति गठनदेखि सूचीमा नक्कली समावेश गर्दासम्मकोम काम हुँदा रामबहादुर थापा र बालकृष्ण खाण गृहमन्त्री थिए भने महेश्वर न्यौपाने र टेकनारायण पाण्डे सचिव थिए । पीडित प्रहरीमा पुगेपछि यो प्रकरण बाहिरिएको थियो । पीडितको जाहेरीमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासनमा एक जनाबाट २५ देखि ४५ लाखसम्म नगदै बुझाएको उल्लेख छ ।

पक्राउ परेका चार जनाबाट तत्कालीन गृहमन्त्री, सचिव र अन्य पदाधिकारीको संलग्नता नखुलाउने गरी सामान्य ठगीमा मुद्दा चलाउने प्रयास भइरहेको स्रोतको दाबी छ । तर यो संगठित र राष्ट्रिय सुरक्षामै प्रभाव पार्ने घटना भएको नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीको भनाइ छ ।

पक्राउ परेका व्यक्तिसँग नेकपा एमालेका सचिव नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोराको नाम पनि जोडिएको छ । नेता रायमाझीले स्वयं आरोपीसँग खिचेको तस्बिर पनि सार्वजनिक भएको छ । आफ्नो तर्फबाट वास्तविकता नबुझेर गिरोहलाई बल पुग्ने काम भएको स्वीकार गरेका छन् । भुटानी शरणार्थीजस्तो गम्भीर विषयमा गृह मन्त्रालयबाट गरिएको गतिविधि अक्षम्य भएको पूर्वसचिव बताउँछन् ।

पक्राउ परेका चार जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत कारबाही अगाडि बढाइएको छ । रकम बुझाएर पनि अमेरिका जान नपाउने भएपछि पीडित उजुरी दिएपछि भएको अनुसन्धानले कहाँसम्म पुर्याउाछ हेर्न बाँकी नै छ । 

एमाले मौन

यसैगरी नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै आठ सय जनाभन्दा बढी नेपालीसँग रकम असुल्ने गिरोहमा राजनीतिक दलका नेताहरुको पनि संलग्नता देखिएपछि यसको बाछिटाले नेकपा एमालेलाई पनि छोएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिव टोपबहादुर रायमाझीलगायत नेताहरुको राजनीतिक संरक्षणमा गिरोहले ठगी धन्दा चलाएको खुलासा भएको छ । थापा केपी ओली नेतृत्वको तत्कालीन सरकारको गृहमन्त्री थिए । तर, गम्भीर अपराधमा आफ्ना नेताको स‌ंलग्नताबारे एमालेले थाहै नपाएजस्तो गरिरहेको छ ।

एमाले उपाध्यक्ष थापा र सचिव रायमाझीसँगै कांग्रेस नेतृ सुजाता कोइरालाका सहयोगीसमेत ठगी प्रकरणमा मुछिएको पाइएको छ । राजनीतिको आडमा हुने यस्ता अपराधमा नेताहरुको नाम मुछिँदा सम्बन्धित पार्टी नेतृत्व मौन रहनु रहस्यमय छ ।

यो पनि...

सरकारी कागजातको दुरुपयोग : आपराधिक घटना बढे, अनुसन्धान जटिल


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।