नेपालीलाई शरणार्थी बनाएको अभियोगमा बहालवाला सचिव पक्राउ, अनुसन्धान एमालेका दुई पदाधिकारीतर्फ सोझियो

वैशाख २०, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालीलाई शरणार्थी बनाएको अभियोगमा बहालवाला सचिव पक्राउ, अनुसन्धान एमालेका दुई पदाधिकारीतर्फ सोझियो

काठमाडौं । नेपाल प्रहरी पछिल्ला ४० दिनदेखि एउटा गम्भीर कसुरको अनुसन्धानमा छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौं रकम असुलेको भन्दै पीडितले दिएको उजुरीबाट सुरु भएको अनुसन्धानले अहिले मुलुकको सुरक्षा संयन्त्रको नेतृत्व सम्हाल्ने गृह मन्त्रालयकै नेतृत्वलाई समेत कानुनको कठघरामा उभ्याएको छ ।

४ सय २९ जना व्यक्तिलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ५० लाखसम्म असुल गरेको घटनामा प्रहरी अनुसन्धानले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डेलाई आरोपी देखाएपछि दुबैजना पक्राउ परेका छन् ।

मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । राई पक्राउ परेपछि उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे घर छाडेर बाहिरै बसेका थिए । तर, बुधबार उनी जडीबुटीबाट प्रहरीको फन्दामा परे ।

हाल उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डे ०७८ साउन २७ देखि २०७९ असोज २ गतेसम्म गृहसचिवको जिम्मेवारीमा थिए । पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।

लहरो तानियो

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अभियोगमा नेपाल सरकारका बहालवाला सचिव नै पक्राउ परेपछि लहरो तान्दा पहरो गर्जिने अवस्था आएको छ । नक्कली भुटानी शरणार्थीको विषयलाई प्रहरीले संगठित अपराधमा राखेर ७ जनालाई पक्राउ गरिसकेको छ । तर वहालवाल सचिव नै संगठित अपराधको अभियोगमा पक्राउ परेको यो सम्भवत: पहिलो पटक हो ।

पाण्डेभन्दा अघिका गृहसचिव महेश्वर न्यौपाने समेत शंकाको घेरामा छन् । साथै, राजनीतिक नेतृत्वसमेत अनुसन्धानको घेरामा तानिएको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापामाथि पनि प्रहरीको अनुसन्धान सोझिएको छ । यसअघि पक्राउ परेकाहरुसँग पूर्वउर्जामन्त्री एवं नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीले हेलिकोप्टरमा यात्रा गरेको तथ्य प्रहरीले फेला पारेको छ । टोपबहादुर छोरा सन्दीप रायमाझीले डेढ करोडको चेक बुझेको प्रमाण प्रहरीले फेला पारेको छ ।

बुधबार सचिव पाण्डेलाई पक्राउ गरिसकेपछि उनकै प्रारम्भिक बयानका आधारमा बुधबार नै तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

राई र पाण्डे पक्राउ पर्नुअघि नै आरोपीमध्येका केशव दुलाल र सानु भण्डारी सहित पाँच जना पक्राउ परेका थिए । उनीहरुका साथबाट बरामद डायरीमा इन्द्रजित राईले रकम लिएको तथ्य भेटिएपछि राई मंगलबार समातिएका हुन् । सचिव पाण्डेले पनि रकम लिएको तथ्य भेटिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

गृह मन्त्रालयबाट नक्कली शरणार्थीको परिचयपत्र पाएकाहरुको एकिन तथ्यांक नभए पनि रेगन गुरुङ, राम आचार्य, महेश कार्की, टेक मैनालीलगायतले परिचयपत्र पाइसकेका छन् । उनीहरु वास्तविक भुटानी नभएको स्रोतको दाबी छ ।

गृह मन्त्रालयमा कार्यरत रहेकाबखत नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजाने प्रकरणमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले सचिव पाण्डेविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

प्रहरी परिसर टेकुमा राखिएका राईले समेत विभिन्न चरणमा गरेर डेढ करोड रुपैयाँभन्दा बढी आफूबाट लिएको भनेर यसअघि पक्राउ परेका गिरोहका सदस्यले बयानमा जनाएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा गिरोह सञ्चालन र रकम असुलीमा राईको प्रत्यक्ष संलग्नता रहेको प्रमाण पाइएको थियो ।

गृहमन्त्रालयको निर्णयबाटै ठगी धन्दा

तत्कालीन माओवादी नेता एवं हाल एमाले उपाध्यक्षसमेत रहेका रामबहादुर थापा २०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बेला इन्द्रजीत राई उनका सुरक्षा सल्लाहकार थिए । उनले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म असुल्न मार्गप्रशस्त गरिदिएको बयानबाट खुलेको छ ।

प्रहरीले एमाले सचिवसमेत रहेका टोपबहादुरका छोरा सन्दीपका नाममा डेढ करोड रुपैयाँको काटेको चेक नै बरामद गरिसकेको छ ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै २०७६ जेठ ३० मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको समितिले प्रमाणीकरणमा छुटेका भन्दै ४२९ जनालाई सूचीमा समावेश गर्न सरकारलाई सिफारिस गर्यो । त्यसैका आधारमा मन्त्रिपरिषद्‌ले कार्यान्वयनमा लैजाने निर्णय गर्यो र गृह मन्त्रालयले झापा तथा मोरङका जिल्ला प्रशासन कार्यालयलाई भुटानी शरणार्थीको सूची तयार पार्न परिपत्र गर्यो । यस क्रममा गृहमन्त्रालयका कर्मचारी, नेताहरु र बिचौलियाहरुले मिलेर नेपाली नागरिकसँग रकम असुल्दै भु६नी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दा अघि बढाए ।

तर, त्यसरी रकम असुलिएका केही व्यक्ति अमेरिका जान असफल भएपछि प्रहरीको सम्पर्कमा पुगेपछि यो ठगी धन्दाको पर्दाफास भयो । प्रहरीमा दर्ता भएको जाहेरीमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासनमा एक जनाबाट २५ देखि ४५ लाखसम्म नगद बुझाएको उल्लेख छ । उनीहरुबाट अमेरिका पठाउने भन्दै ५० लाखसम्म असुल गरे पनि युएनएचसीआरको सूचीमा नपरेपछि पीडितहरु प्रहरीमा पुगेका हुन् ।

अमेरिका जाने सपना देखेर रकम बुझाएका २० जनाभन्दा बढीले प्रहरीमा उजुरी दिएका छन् । उनीहरुले २३ करोड रुपैयाँ ठगी भएको बताएका छन् ।

६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्थाअनुसार प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ । शरणार्थी जस्तो अन्तर्राष्ट्रिय चासोको विषयमा नागरिकबाट रकम असुल गरेर विदेश पठाउन गृह प्रशासनकै संलग्नता अत्यन्तै संवेदनशील देखिएको छ । 

सम्बन्धित समाचार...

अपडेट : टेकनारायण पाण्डेलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप
नक्कली भुटानी प्रकरण : पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार पक्राउ
कान्तिपुरको सनसनी खुलासा : नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा दुई पूर्वमन्त्रीका छोराको संलग्नता
नक्कली भुटानी काण्डमा पूर्वगृहमन्त्रीसहित को-को मुछिए ?
नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान
नक्कली भुटानी शरणार्थी बनाउनेमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
प्रतिनिधिसभा बैठक : नागरिकता संशोधनदेखि नक्कली भुटानी शरणार्थीसम्मका प्रश्न
टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी
कान्तिपुरको सनसनी खुलासा : नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा दुई पूर्वमन्त्रीका छोराको संलग्नता


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement