नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान

वैशाख ४, २०८० |रमेश धमला
नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा पक्राउ परेका पाँच जनाविरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ ।

नक्कली भुटानी शरणार्थी बनाउन गृह मन्त्रालयका पदाधिकारीलाई समेत प्रभावमा पारेको आरोप लागेका केशव दुलालसहितलाई प्रहरीले संगठित अपराधमा मुद्दा लैजाने तयारी गरेर अनुसन्धान अघि बढाएको हो । ठगीमा मात्रै अनुसन्धान गरेर २२ दिन थुनामा राखिएकालाई संगठितमा लैजाने गरी मुद्दा परिर्वतन गरिएको प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए ।

संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर अनुन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । सात दिनको म्याद थप भइसकेको छ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ४५ लाखसम्म असुल भएको घटनामा गृह मन्त्रालयका तत्कालीन पदाधिकारीहरुको संलग्नताको आशंका छ । अहिलेसम्म ७ जनाले दिएको उजुरीमा १८ करोडभन्दा बढी रकम असुल गरेको देखिएको छ ।

गृह मन्त्रालयबाट भुटानी शरणार्थीको परिचयपत्रसमेत जारी भएको छ । नेपालबाट तेस्रो देश पठाउने शरणार्थीको सूचीमा ४२९ जना नक्कली व्यक्ति राखिएको थियो । पैसा बुझाएर पनि जान नपाउने भएपछि पीडितहरु प्रहरीमा पुगेका थिए । गलत व्यक्तिलाई भुटानी शरणार्थी बनाउनेसम्मको खेल हुँदा रामबहादुर थापा र बालकृष्ण खाण गृहमन्त्री थिए भने महेश्वर न्यौपाने र टेकनारायण पाण्डे सचिव थिए ।

आरोपीसँग नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोराको पनि सम्बन्ध देखिएको छ । संगठित अपराधसम्बन्धी ऐनले योजना बनाउनेदेखि कार्यान्वयन गर्नेसम्मलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भनेको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement