
काठमाडौं । जेन–जी विद्रोहपछि राजनीतिक दलहरुबीच ध्रुवीकरण अभियान नै चलेको छ । लामो समयदेखि फरक–फरक विचार बोकेर हिँडेका दलहरुले पनि एकता र सहकार्यको बाटो रोजेका छन् । विगतमा मित्रवत व्यवहार गर्नेहरु मात्र होइन कटु आलोचकहरु पनि अहिले धमाधम एउटै मोर्चामा समाहित भइरहेका छन् । दलहरुबीच भएको ध्रुवीकरणको अन्तर्य के हो ? आफ्नो शक्ति र अस्तित्व जोगाउने ध्याउन्न मात्रै हो कि, राजनीतिक अस्थिरताले पनि निकास पाउला ?
नेपाली कम्युनिस्ट पार्टीमा बिहीबार मात्रै चार समूह समाहित भए । यसअघि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका १२ वटा समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । अब जनता समाजवादी पार्टीबाट अलग भएका राजेन्द्र श्रेष्ठको समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
बुधबारमात्रै कुलमान घिसिङको अग्रसरतामा खुलेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालबीच एउटै चुनाव चिह्न बिजुलीको चीम लिएर प्रतिनिधिसभा निर्वाचन लड्ने सहमति भयो । यी दुई दल जेन–जी विद्रोहपछि मात्र निर्वाचन आयोगमा दर्ता भएका हुन् । बुधबार नै राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टी पार्टीबीच एकीकरण गर्ने सहमति भयो । आगामी आइतबार दुई दलबीच औपचारिक एकता हुने छ ।
यता अशोक राई नेतृत्वको जसपा, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले पनि एउटै चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका छन् । तीन दलले नागरिक उन्मुक्तिको जाँतो चिह्नमा चुनाव लड्न निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर चुनावमा होमिएका छन् । यस्तै घनश्याम भुसालको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच एकीकरणको सहमति भएको छ ।
यस्तै मधेशकेन्द्रित दलहरुमा पनि आसन्न निर्वाचनमा तालमेल गरेर जानेबारे छलफल सुरु भएको छ । सके पार्टी एकता, नभए पनि चुनावी तालमेल गर्ने भन्दै मधेश केन्द्रित दल वार्तामा छन् ।
जेन–जी विद्रोहपछि परम्परागत दलहरुमा बढेको त्रासले समेत एकता र सहकार्य बढाएको हो । प्रतिस्पर्धाका लागि निर्वाचनमा जाँदा आफूहरु कमजोर हुने बुझाइले अहिले पार्टी एकीकरण गर्ने होड चलेको हो । यसअघिसम्म फरक फरक नीति र सिद्धान्त बोकेर हिँडेको भए पनि चुनावको मुखमा एकता गर्नुलाई जानकारहरुले अवसरवादको रुपमा चित्रण गरेका छन् ।
राजनीतिक स्थायित्वका नाममा भएका पछिल्ला ध्रुवीकरण दल र नेतृत्वको अस्तित्व रक्षाका लागि रहेको प्रष्ट छ । जेन–जी आन्दोलनपछि उथलपुथल बनेको राजनीतिक परिवेशलाई दल र नेताहरुले एकीकरणको लेपन लगाएर शक्तिशाली देखाउन भरपुर प्रयास गरिरहेका छन् । असलमै विचारकेन्द्रित मिलन भए राजनीतिले नयाँ निकास पाउने छ । तर, चुनाव जित्न, नेता बन्न र पद जोगाउनकै लागि मात्रै देखिएका पछिल्ला ध्रुवीकरणका सिलसिलाले निकास होइन राजनीतिलाई झन् बढी बिद्रुप बनाउन सक्छ ।