जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पनि पराजित

मंसिर ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पनि पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलमा पोखरा एभेन्जर्सले पहिलो खेल जित्दा जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पनि पराजित भएको छ। टियू क्रिकेट रंगशालामा भएको खेलमा १ सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर १ सय ३० रनमा समेटिएपछि पोखरा २५ रनले विजयी भएको हो ।

पहिले ब्याटिङ गर्ने निर्णय लिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । पोखराका ओपनर दिनेश खरेल र आडम रसिङ्टनले ६१ रनको उत्कृष्ट साझेदारी गरेर खेललाई राम्रो मोमेन्टसाथ सुरुआत गरेका थिए । दिनेश ३८ रन र रसिङ्टन २४ रन बनाएर बाहिरिएका थिए। कप्ता कुशल भुर्तेल गोल्डेन डक भए । तर त्यसपछि मैदान आएका सुमित वर्माले अविजित ५० रनको अर्धशतकीय योगदान गर्दै पोखरालाई सहज अवस्थामा पुर्‍याएका हुन्। उनले २९ बलमा दुई चौका र चार छक्का प्रहार गरेका थिए । त्यसैगरी तृतराज दासले पनि २९ रन बनाएर पोखरालाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याउन सहयोग गरेका थिए । जनकपुरका सञ्जय कृष्णमुर्तिले तीन विकेट लिएका थिए।

जवाफमा जनपकुरको शीर्ष क्रमले सम्हालिएर खेल्नै सकेनन् । ओपनर माज सदातले २० रन बनाए पनि आसिफ शेख शून्य, सुभ कंसाकर चार र जान निकोलो लोफ्टी इटन दुई रनमा बाहिरिएका थिए । सञ्जयले भने २५ रनको योगदान गर्न सके । विपिन खत्रीले शीर्षक्रमका दुई र मध्यक्रमको दुई गरी चार विकेट लिँदा जनकपुरलाई साझेदारी गर्न दिएनन् । सुमित वर्माले पनि २ विकेट आफ्नो नाममा गरेका थिए। यो हारसँगै जनकपुर प्रतियोगितामा एकमात्रै अंकविहीन टोली बनेको छ । पोखराले भने पहिलो दुई अंक जोडेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.