प्रसूती सेवा लिनेको भेरी अस्पतालमा अत्यधिक चाप

मंसिर ११, २०८२ |रेजिना मल्ल
प्रसूती सेवा लिनेको भेरी अस्पतालमा अत्यधिक चाप

बाँके । नेपालगञ्ज र कोहलपुर मेडिकल कलेज दुवैमा आमासुरक्षा कार्यक्रम बन्द भएपछि प्रसूती सेवा लिनेको भेरी अस्पतालमा अत्यधिक चाप बढेको छ। दुईवटा शिक्षण अस्पतालमा कार्यक्रम रोकिएसँगै भेरी अस्पतालमा दैनिक १२ देखि १५ जना शल्यक्रिया र २० देखि ३० जना सामान्य प्रसूती सेवा लिन पुग्ने गरेका छन् । शल्यक्रियाबाट सुत्केरी भएकालाई २४ घण्टा राख्नुपर्ने पोस्ट–अप बेड १२ वटा मात्रै भएकाले सेवा व्यवस्थापन चुनौतीपूर्ण बनेको भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट निराजन सुवेदीले बताउनुभयो ।

हाल भेरी अस्पतालमा ३ सय शैय्या सञ्चालनमा छन् । तर प्रसूति सेवाका लागि छुट्याइएको बेड ७५ मात्र हो। नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा आमासुरक्षा कार्यक्रम सञ्चालनमा रहँदा भेरीमा मासिक १ सय ५० जना महिला शल्यक्रियाद्वारा सुत्केरी हुन्थे । 

तर कार्यक्रम बन्द भएपछि यो संख्या बढेर २ सय ५० हाराहारी पुगेको छ। सेवा प्राप्तीको पहुँच घटेसँगै विपन्न परिवारका गर्भवती तथा सुत्केरी महिलाहरू प्रभावित भएका छन्। आमा सुरक्षा कार्यक्रम लागू भएका अस्पतालमा गर्भवती तथा सुत्केरी सम्बन्धी सम्पूर्ण सेवा निशुल्क उपलब्ध हुन्छ ।


Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।