नक्कली भुटानी प्रकरण : पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार पक्राउ

वैशाख १९, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी प्रकरण : पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार पक्राउ

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्य संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । उनलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौं रुपैयाँ असुल गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा राईलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।

गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

थापा २०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बेला राई सुरक्षा सल्लाहकार थिए । उनले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म पैसा असुल्न मार्गप्रसस्त गरिदिएको बयानमा खुलेको छ । प्रहरी परिसर टेकुमा राखिएका राईले समेत विभिन्न चरणमा गरेर डेढ करोड रुपैयाँभन्दा बढी आफूबाट लिएको भनेर पक्राउ परेका गिरोहका सदस्यले बयानमा जनाएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा गिरोह सञ्चालन र रकम असुलीमा राईको प्रत्यक्ष संलग्नता रहेको प्रमाण पाइएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement