सरकार र नेकपा एमालेबीच संवादमा 'ब्रेक थ्रु'

मंसिर ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार र नेकपा एमालेबीच संवादमा 'ब्रेक थ्रु'

काठमाडौं । सरकार र नेकपा एमालेबीच संवादमा ब्रेक थ्रु भएको छ । सरकारले चुनाव नै गराउन नसक्ने दाबी गर्दै आएको एमालेका नेताहरुसँग प्रधानमन्त्री सुशीला कार्कीले बालुवारमै बोलाएर छलफल गर्नुभएको छ । प्रधानमन्त्री बनेपछि कार्कीले एमाले नेताहरुसँग पहिलो पटक छुट्टै छलफल गर्नुभएको हो ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, महेश बर्तौलालगायतका नेता बालुवाटार पुगेका थिए । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले चुनावी वातावरणका लागि सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले अविश्वास रहेको ठाउँमा सरकारले विश्वासमा ल्याउने गरी काम गर्ने काम गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री कार्कीले गर्नुभयो ।

जवाफमा एमालेले भने आफूहरु निर्वाचनमा जान तयार रहेको तर वातावरण बन्न नसकेको बताएका थिए । उनीहरुले सरकार गठन र प्रतिनिधि सभा विघटनको संवैधानिक परीक्षण बाँकी रहेको समेत बताएका थिए । एमालेका नेताहरुले सरकारले चुनाव गराउनेमा १० प्रतिशत पनि ढुक्क हुन नसकेको बताए ।

प्रधानमन्त्री कार्की र एमालेका नेताहरुबीच भएको छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन प्रतिवद्ध रहेको बताउनुभयो ।

यसअघि आजै प्रधानमन्त्री कार्कीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल गर्नुभएको छ । त्यस क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउने भूमिका खेलिदिन अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.