कान्तिपुरको सनसनी खुलासा : नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा दुई पूर्वमन्त्रीका छोराको संलग्नता

चैत्र २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरको सनसनी खुलासा : नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा दुई पूर्वमन्त्रीका छोराको संलग्नता

काठमाडौं । नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार र पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोराको समेत संलग्नता देखिएको छ । थापाका छोराविरुद्ध पनि उजुरी परेको छ ।

कान्तिपुर दैनिकको आजको अंकमा देवेन्द्र भट्टराईले खुलासा गरेको सनसनीपूर्ण समाचारमा अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता भेटिएको हो ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीले गिरोहका नाइकेहरुसँग खिचेको सामूहिक तस्बिर र उनका छोरा सन्दीप रायमाझीका नाममा काटिएको १ करोड ५० लाखको चेकसहितको समाचार छापिएको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरज राई पनि गिरोहमा संलग्न रहेको र स्वयं थापाका छोरा प्रतीक थापामगरविरुद्ध पनि उजुरी परेको समाचारमा जनाइएको छ ।

थापा हाल नेकपा एमालेमा उपाध्यक्ष र रायमाझी सचिव छन् ।

गिरोहका सदस्यले १० देखि ५० लाख रुपैयाँसम्म उठाएको आरोप लागेको छ । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको अनुसन्धानमा देखिएको छ । दुलाल पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी कांग्रेस नेता सुजाता कोइरालाका  तत्कालीन निजी सहायक हुन् ।

प्रहरीले एमाले सचिवसमेत रहेका रायमाझीका छोरा सन्दीपका नाममा डेढ करोडको चेक काटेको चेक नै बरामद गरेको छ । दुलाल, भण्डारी, थुलुङ र गुरुङलाई प्रहरीले १० दिन अघि प्रक्राउ गरिसकेको छ ।

छुटेका शरणार्थीको समस्या समाधान गर्न भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साल असार २९ गते कार्यदल गठन गरेको थियो । गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थी संयोजक रहेको कार्यदलले काम गरिरहेकै बेला राजनीतिक संरक्षण पाएको गिरोहले नक्कली शरणार्थीको सूची संकलन गरेको पुष्टि भएको हो ।

हेर्नुहोस् कान्तिपुरमा दैनिकमा प्रकाशित समाचार– 

अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा ‘राजनीतिक संलग्नता’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement