चितवनमा रवि झन् लोकप्रिय, सफलता जोगाउने चुनौती

वैशाख १२, २०८० |कान्तिपुर टीभी संवाददाता
चितवनमा रवि झन् लोकप्रिय, सफलता जोगाउने चुनौती

काठमाडौं । सर्वोच्च अदालतले पदमुक्त गरेको तीन महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि चितवन २ बाट चुनाव जितेर प्रतिनिधिसभामा दोहोरिएका छन् । यसपालि उनले गत मंसिरको भन्दा पनि लोकप्रिय मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका छन् । मंसिरमा उनले ४९ हजार २६४ मत पाएका थिए । यसपालि उनले ४ हजार ९१२ मत थपेका छन् । लामिछानेले ४२ हजार ९ सय ६२ मत अन्तरले चुनाव जितेका हुन् ।

लामिछाने यसअघि मंसिर ४ मा भएको चुनावमा पनि सोही क्षेत्रबाट झण्डै ३५ हजार मतान्तरले विजयी भएका थिए । अहिले उनले मत बढाए भने कांग्रेस र एमाले दुबै दलको मत घट्यो ।

रविको जित र प्रश्न

मंसिर–४ मा भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा २० सिटसहित र समानुपातिकतर्फ ११ प्रतिशत मत पाएको थियो । पार्टी गठनको ६ महिनामै नयाँ शक्तिका रुपमा उदाएको रास्वपाका सभापति लामिछाने चुनावपछि उपप्रधानमन्त्री र गृहसहित सरकार सहभागी भएका थिए । तर, नागरिकतासम्बन्धी मुद्दामा माघ १३ गते सर्वोच्च अदालतले रविलाई पदमुक्त गरेपछि उनको सत्ता यात्रा १ महिनामै ब्रेक लाग्यो ।

मंसिरको चुनावपछि लामिछानेले एमाले–माओवादी गठबन्धन सरकारमा सहभागी हुने नीति लिएका थिए । त्यसबीचमा सरकारबाट पार्टीलाई नै बाहिर निकालेका उनले सत्ता समीकरण फेरिएपछि कांग्रेस–माओवादीको गठबन्धनलाई दिएको समर्थन जारी राखे ।

यहीबीचमा सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न रविको कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो बाहिर आयो । श्रेष्ठको सांसद पद त्यही कारणले गुम्यो । तर, यो प्रकरणमा रास्वपा र सभापति रविमाथि नैतिक प्रश्नसमेत उठेको छ ।

५४ हजार मत कटाउँदै रवि लामिछाने विजयी

पुराना दलप्रति जनताको वितृष्णा बढ्दै गएपछि त्यसको फाइदा रविले उपनिर्वाचनमा पनि उठाएका छन् । स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएर उनले आफ्नो छवि सुधार्ने प्रयास गरेका छन् । फलस्वरुप उनले उपचुनावमा पहिलेको भन्दा पनि लोकप्रिय मत पाएका छन् भने तनहँुबाट एक सिट थपेर प्रतिनिधिसभामा २१ सिट पुर्याएका छन् ।

सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रविले छोटो समयमा सफलता हासिल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले लिने नीतिमा नै रविको आगामी राजनीतिक सफलता निर्भर हुनेछ ।

स्वर्णिम वाग्लेको विजयी यात्रा : कांग्रेसको घेरा तोडे पनि प्रश्नको घेरा बाँकी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.