
काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ६१ खानेपानी आयोजनामा क्षति पुग्दा ४५ हजारभन्दा बढी जनसंख्या खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।
बाढी प्रभावित क्षेत्रका नागरिक बस्तीबाट निकै टाढा रहेका स्रोतबाट डोकोमा बोकेर खानेपानीको जोहो गरिरहेका छन् भने सडक सम्पर्क नटुटेका स्थानमा ट्यांकरमार्फत वितरण गरिएको छ। तर, ट्यांकरबाट बाँडिएका पानीसमेत असुरक्षित रहेको स्थानीयको गुनासो छ ।
भोटेकोशीमा आएको बाढीबाट नुवाकोटको विदुर खानेपानी आयोजना पूर्णरुपमा क्षतिग्रस्त हुँदा यस क्षेत्रका पाँच हजार घरधुरीका २० हजार जनसंख्या खानेपानी सुविधाबाट वञ्चित भएको छ । पानीको गम्भीर समस्या भएपछि साउने धाराबाट ल्याएर जोहो गरिरहेका छन् ।
टाढाबाट डोकोमा बोकेर ल्याउनु परिरहेको र नुहाईधुवाई गर्नसमेत समस्या भएको उनीहरुको दुखेसो छ । केही ठाउँमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ट्यांकरमार्फत वितरण गरेको त छ तर त्यो पानी पनि राम्रो नभएको स्थानीयको भनाइ छ ।
विदुर खानेपानी आयोजनाको ९ किलोमिटर स्टिल पाइपलाइन र वैकल्पिक डिप बोडिङ समेत बाढीले बगाएको छ । जसले गर्दा पानी वितरण गर्न धेरै समय लाग्ने देखिएको उपभोक्ता समितिका पदाधिकारीहरु बताउँछन् ।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई खानेपानी उपलब्ध गराउने सरकारले काठमाडौं उपत्यका खानेपानी लिमिटेड-केयूकेएलमार्फत चारवटा खानेपानीका ट्यांकर विदुर पठाएको छ । पूर्वाधार विकास मन्त्रालयले नजिकैका मूहानबाट पानी संकलन गरी होल्डिङ सेन्टर र टोलटोलमा प्लाष्टिकका ट्यांकी राखेर वितरण गरिरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार रसुवामा ८, नुवाकोटमा २४ र धादिङमा २५ वटा खानेपानी आयोजना क्षतिग्रस्त भएका छन् । तिनै जिल्लामा ९ हजार घरधुरीका ४५ हजार भन्दावढी नागरिक खानेपानी सुविधाबाट वञ्चित भएका छन् भने खानेपानीका पूर्वाधारमा ५५ करोडभन्दा बढीको क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
थोरै क्षतिभएका आयोजनाहरु पुनर्निर्माण र मर्मत गरेर खानेपानी उत्पादन र वितरणका लागि जुटेको मन्त्रालयले जनाएको छ । पूर्वाधार विकास मन्त्रालयले बाढीका कारण क्षतिग्रस्त खानेपानी आयोजना पुन सञ्चालनका लागि विभिन्न अल्पकालीन र दीर्घकालीन योजनाहरु समेत अघि बढाइरहेको जनाएको छ ।