स्वर्णिम वाग्लेको विजयी यात्रा : कांग्रेसको घेरा तोडे पनि प्रश्नको घेरा बाँकी

वैशाख १२, २०८० |कान्तिपुर टीभी संवाददाता
स्वर्णिम वाग्लेको विजयी यात्रा : कांग्रेसको घेरा तोडे पनि प्रश्नको घेरा बाँकी

तनहुँ । गोरखाको बुंकोटमा २०३१ सालमा जन्मिएका ४८ वर्षीय अर्थशास्त्री स्वर्णिम वाग्लेले आफूलाई पुर्ख्यौली कांग्रेस बताउँदै आएका थिए । तर, तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उनको प्रवेश कांग्रेसबाट नभएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएको छ ।

राति ३ बजे सकिएको मतगणनामा वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाएका छन् ।

वाग्लेले पाएको मत अघिल्लोपटक त्यही क्षेत्रबाट चुनाव जितेका रामचन्द्र पौडेलले ल्याएको भन्दा झन्डै १० हजार बढी हो । तनहुँ १ मा जिल्लाका ४२ वडा पर्छन् ।

वाग्लेको संसद प्रवेश गर्ने चाहनालाई तनहुँका मतदाताले भारी मतले अनुमोदन गरिदिएका हुन् । २०४८ सालदेखि कांग्रेसले आफ्नो गढ ठान्दै आएको तनहुँ १ मा वाग्लेको विजयमार्फत रास्वपाको प्रवेश भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले औपचारिक कार्यक्रम गरी वाग्लेलाई प्रमाणपत्र प्रदान गरेको छ । प्रतिस्पर्धी भट्टराईले पनि शुभकामना दिएका छन् । नवनिर्वाचित सांसद वाग्लेले जनमतको सम्मान गर्ने जनाएका छन् ।

जितसँगै चुनौती पनि

कांग्रेसको गढबाटै चुनाव जितेर वाग्लेले पुरानो दलको घेराबन्दी त तोडेका छन्, तर उनको आफ्नै राजनीतिक यात्रा भने प्रश्न र चुनौतीको घेराभित्रै छ ।

काठमाडौंको बूढानीलकण्ठ स्कुलबाट एसएलसीमा बोर्ड सेकेन्ड बनेका डा. स्वर्णिम वाग्लेले लन्डन स्कुल अफ इकोनोमिक्स, हार्बड विश्वविद्यालय र अस्ट्रेलियन युनिभर्सिटीबाट अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका छन् । उनले अध्ययन र जागिरको सिलसिलामा २५ वर्ष विदेशमा बिताएका छन् ।

२०७२ सालको भूकम्पपछि क्षतिको आकलनमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्ने वाग्ले कांग्रेस सरकारमा हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बने । २०७७ पछि दुई वर्ष यूएनडीपीमा काम गरे ।

              चितवनमा रवि झन् लोकप्रिय, सफलता जोगाउने चुनौती

हाल काठमाडौं विश्वविद्यालयको सिनेट सदस्यसमेत रहेका वाग्ले सर्वांगीण विकास अध्ययन केन्द्र, आईआईडीएस नामक गैरसरकारी संस्थाको अध्यक्षसमेत छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको अनुभव र क्षमतालाई देश विकासमा लगाउन भन्दै राजनीतिमा होमिएका वाग्लेले गत मंसिरमा कांग्रेसबाटै उम्मदेवार बन्न चाहेका थिए । तर, पार्टीले टिकट नदिएपछि उनी असन्तुष्ट बने । यही क्रममा गत चैतमा उनी कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे र तनहुँ १ बाट सांसद निर्वाचित भए ।

प्रतिनिधिसभाका पहिलोपटक प्रवेश गरेका वाग्लेसामु आगामी राजनीतिक यात्रा चुनौतीपूर्ण हुने देखिन्छ । विभिन्न विवादमा मुछिएका रवि लामिछानेको नेतृत्वमा रहेर उनले काम गर्नुपर्नेछ । दुई करोडको अडियो प्रकरण, आर्थिक अपारदर्शिता, सत्तालोलुपतालगायत आरोप राष्ट्रिय स्वतन्त्र पार्टीले व्यहोरिरहेको छ ।

यस्तो प्रतिकूल अवस्थामा वाग्लेले पार्टीको कुन जिम्मेवारी पाउँछन् भन्ने प्रस्ट छैन । पार्टीलाई कुन सिद्धान्तमा अघि बढाउने भन्ने प्रश्न पनि अनुत्तरित छ । अब सांसद वाग्लेले आफ्नो दल र पार्टीमा कस्तो भूमिका खेल्छन्, यो आगामी दिनले बताउने नै छ ।

तनहुँ-१ मा स्वर्णिम वाग्ले निर्वाचित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.