घटनास्थल पुगेर रित्तै फर्किए परिवार, अझै भेटिएनन् कञ्चनपुरका २६ बेपत्ता

भाद्र २६, २०८३ |हरिश्चन्द्र बाग
घटनास्थल पुगेर रित्तै फर्किए परिवार, अझै भेटिएनन् कञ्चनपुरका २६ बेपत्ता

कञ्चनपुर । रसुवाको भोटेकोशीमा आएको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन छन् । 

उनीहरूका परिवार डीएनए परीक्षणको रिपोर्ट र आफन्तको अवस्थाबारे आधिकारिक जानकारीको पर्खाइमा छन् । "बुबा कहिले आउनुहुन्छ ?" घरमा साना छोराछोरीले सोधिरहन्छन्। तर, भदौ १० गते भोटेकोशी बाढी गएकै बेलादेखि सम्पर्कविहीन कञ्चनपुरको बेलौरी-५ रामनगरका काका भतिजा खुसीराम चौधरी र प्रकाश चौधरीको अत्तोपत्तो छैन। 

उनीहरूसँगै आफन्त पर्ने बेलौरी-३ पडाउका रामचन्द्र चौधरीसमेत सम्पर्कविहीन छन् । तीनै जना चार वर्षदेखि स्याफ्रुबेंसीस्थित लाङटाङ जलविद्युत् आयोजनामा मजदुरको काम गर्दै आएका थिए । बाढीपछि उनीहरूसँग परिवारको सम्पर्क टुटेको हो । परिवारले बेपत्ताको अवस्था यकिन गरी राहत तथा भरणपोषणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

परिवारका सदस्य घटनास्थलसम्मै पुगे । तर, उनीहरू रित्तो हात फर्किए । अहिले परिवार डीएनए परीक्षणको रिपोर्ट र सरकारले गर्ने आधिकारिक घोषणा तथा राहतको पर्खाइमा छ । जिल्ला विपद् व्यवस्थापन आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार रसुवामा कञ्चनपुरका २६ जना बेपत्ता छन् । 

उनीहरू अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनीहरू सबैका परिवारजनले नजिकैका अस्पतालहरूमा डीएनएका लागि नमुना दिएका छन् ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।