स्क्रब टाइफसले सल्यानमा ९ जनाको ज्यान लियो, ६ सयभन्दा बढी संक्रमित

आश्विन १८, २०८३ |सरिता चलाउने
स्क्रब टाइफसले सल्यानमा ९ जनाको ज्यान लियो, ६ सयभन्दा बढी संक्रमित

सल्यान । साउनको दोस्रो सातादेखि सल्यानको दार्मा गाउँपालिकामा फैलिएको स्क्रब टाइफसको संक्रमण अहिले जिल्लाका दशमध्ये नौ स्थानीय तहमा फैलिएको छ। 

संक्रमणबाट दार्मा गाउँपालिकामा मात्रै आठ जना र छत्रेश्वरी गाउँपालिकामा एक गरी नौ जनाको मृत्यु भइसकेको छ भने ६ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। संक्रमणको अवस्था, दर, बढी प्रभावित क्षेत्र र रोग फैलिन सक्ने सम्भावित कारणबारे अध्ययन गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको टोली नै सल्यान पुगेर अध्ययन गरेको छ।

गएको भदौ १ गते दार्मा गाउँपालिका-६ का ८२ वर्षीय पुरुषको स्क्रब टाइफसका कारण जिल्ला अस्पतालमा मृत्यु भयो। साउनको दोस्रो सातादेखि देखिएको संक्रमणबाट दार्मा गाउँपालिकामा मात्रै आठ जनाको मृत्यु भइसकेको छ। गाउँपालिकाभर एक सय २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ। 

संक्रमण बढ्दै गएपछि अहिले जिल्लाका नौ स्थानीय तहमा स्क्रब टाइफस फैलिएको छ। जिल्लाभर ६ सयभन्दा बढी संक्रमित भेटिएका छन् भने मृत्यु हुनेको संख्या नौ पुगेको छ। संक्रमणको दर बढ्दै गएपछि यसको वास्तविक अवस्था, बढी प्रभावित क्षेत्र र सम्भावित कारण पहिचान गर्न ईडीसीडीको टोली सल्यान पुगेको हो। 

किट विशेषज्ञसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर संक्रमित तथा स्थानीय समुदायसँग प्रत्यक्ष जानकारी लिनुका साथै रोग फैलावटको अवस्थाबारे अध्ययन गरेको छ। प्रभावित बस्तीबाट प्रतिनिधिमूलक नमुना संकलन गरी थप परीक्षण तथा अनुसन्धानका लागि काठमाडौं लैजाने तयारीसमेत गरिएको छ।

जिल्लामा संक्रमण फैलिँदै गएपछि खोजपडताल र उपचारलाई पनि तीव्र पारिएको छ । कर्णाली प्रदेश सरकारबाट एर्फइटीपी तालिम प्राप्त जनशक्ति दार्माका विभिन्न स्थानमा पुगेर संक्रमणको अवस्था र फैलावटबारे अनुसन्धान गरिरहेको छ। सामान्य अवस्थाका बिरामीको जिल्लामै उपचार भइरहेको छ भने जटिल अवस्था देखिएका बिरामीलाई अन्य अस्पतालमा रेफर गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्क्रब टाइफसलाई बुस टाइफस पनि भनिन्छ । यो ओरिएन्टिया सुत्सुगामुसी नामक ब्याक्टेरियाका कारण हुने संक्रमण हो। संक्रमित मुसामा पाइने लार्भा अवस्थाको माइट अर्थात् चिगरले टोकेपछि मानिसमा संक्रमण सर्न सक्छ । समयमै पहिचान र उपचार भएमा निको हुने यो रोगको उपचारमा ढिलाइ हुँदा भने जटिलता देखिन सक्ने चिकित्सकहरू बताउँछन्। 

त्यसैले संक्रमण फैलिएको क्षेत्रमा निगरानी बढाउनुका साथै नागरिक र स्वास्थ्यकर्मीलाई रोगको पहिचान, रोकथाम तथा उपचारबारे जानकारी गराउने तयारी गरिएको छ। ग्रामीण क्षेत्रमा बस्ने, किसान तथा गोठालाहरू संक्रमणको बढी जोखिममा देखिएका छन्। 

जिल्लामा स्क्रब टाइफसबाट मृत्यु हुनेमा छ पुरुष, दुई महिला र एक बालक छन्। उनीहरूको उपचारका क्रममा दाङ र नेपालगञ्जका विभिन्न अस्पतालमा मृत्यु भएको हो। लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।