लुम्बिनीको पर्यटन प्रवर्द्धनमा भारतका आठ राज्य जोडिँदै

आश्विन १८, २०८३ |मनोज पौडेल
लुम्बिनीको पर्यटन प्रवर्द्धनमा भारतका आठ राज्य जोडिँदै

रुपन्देही । विश्व शान्तिको उद्गमस्थल लुम्बिनी र भारतका उत्तरीपूर्वी आठ राज्यबीच पर्यटन प्रवर्द्धन गर्दै पर्यटकीय गन्तव्यको केन्द्र बनाउन नीजी क्षेत्र, सरकार र सरोकारवालाबीच समन्वय गरेर अघि बढने सहमति भएको छ । 

दुवै मुलुकका पर्यटकीय गन्त्व्यहरूबीच दिगो र प्रभावकारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनीमा आयोजित दुई दिने फ्याम ट्रिप राउन्ड टेबल कार्यक्रममा यस्तो समझदारी बनेको हो । लुम्बिनीको शान्ति र अध्यात्मिकतालाई भारतका उत्तरपूर्वी आठ राज्यसम्म जोडेर पर्यटन प्रवर्द्धन गर्न राउन्ड टेबल आयोजना गरिएको थियो ।

भारतका अरुणाचल, आसाम, त्रिपुरा, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम र सिक्किम राज्यमा क्रियाशील नर्थ इस्ट इन्डिया टुरिजम निगम–एनईआईटिसी र नेपालको लुम्बिनी होटल संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा भारतका तर्फबाट नर्थ इस्ट इन्डिया टुरिजम निगम अध्यक्ष छिरिङ वाङ्गे र लुम्बिनी होटल संघ अध्यक्ष लीलामणि शर्माले हस्ताक्षर गरे ।

तीन बुँदे समझदारीमा पर्यटकको सहज आवागमनका लागि सडक र हवाई यातायातको कनेक्टिभिटी बढाउन आआफ्नो सरकारसमक्ष पहल गर्ने, घुम्नका लागि सस्तो र राम्रो प्याकेज बनाएर आदानप्रदान गर्ने तथा पर्यटन क्षेत्रमा भएको ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उल्लेख छ । 

कार्यक्रममा भारत र नेपालका होटल, ट्राभल एन्ड टुर, होलिडे कम्पनी, होमस्टेका प्रबन्धक र प्रतिनिधिले एक अर्काको सेवा सुविधाबारे जानकारी आदानप्रदान गरे । भारतका यी आठ राज्यमा नेपाली भाषी र बौद्ध धर्मावलम्बी धेरै रहेकाले यो प्रयास निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। 

भियतनाम, कम्बोडिया, थाइल्यान्ड र म्यानमार हुँदै बनिरहेको एसियन हाइवे भारत, बंगलादेशसँग जोडिएपछि यही नर्थ इस्ट इन्डिया हुँदै विदेशी पर्यटक नेपाल भित्रिने हुँदा यो समझदारीले दीर्घकालीन महत्त्व राख्ने नेपाली व्यवसायीको बुझाइ छ।

कार्यक्रममा आएका भारतीय ट्राभल एन्ड टुर अपरेटर्स, होटल तथा होमस्टे व्यवसायीलाई लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वबारे सहभागीलाई वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले जानकारी दिएका थिए। उनीहरूलाई लुम्बिनी, तिलौराकोट, निग्राधाराम, बुद्धको अस्तु धातु रहेको मानिने रामग्रामलगायतका स्थलको अवालोकन गराइएको थियो।

लुम्बिनी विश्वमा शान्तिको प्रतीक अध्यात्मिकस्थलका रूपमा चिनिएको छ । भारतको उत्तरपूर्वी क्षेत्रका सात राज्यले सांस्कृतिक तथा प्राकृतिक रूपमा समानता भएका कारण सात बहिनीको उपमा पाएका छन् । त्यसै क्षेत्रको सिक्किमलाई यी सात दिदीबहिनीको एक्लो भाइको उपमा दिइन्छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।