एसियाडमा चीनको एकछत्र राज, नेपालको प्रदर्शन निराशाजनक

आश्विन १८, २०८३ |अभय बस्नेत
एसियाडमा चीनको एकछत्र राज, नेपालको प्रदर्शन निराशाजनक

काठमाडौं । जापानको आइची-नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना भएको एसियाडमा यसपालि चीन चम्कियो । 

पदक तालिकामा शीर्ष स्थानमा रह्यो । यस्तै आयोजक देश दोस्रो स्थानमा रह्यो । १६ दिन चलेको एसियाली खेलकुदको महोत्सवको पदक तालिका समग्रमा कस्तो देखियो त ?

हुन त १६ दिने एसियाली खेल महोत्सवका लागि ४६ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । तर, कुल १५ सय ६८ पदक केवल ४० देशलाई मात्र भाग लाग्यो । एसियाडमा पदक तालिकामा शीर्ष स्थान भने चीनले हासिल गर्‍यो । 

कुल ४ सय ६९ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा चीन एक्लैले १ सय ६९ अर्थात् ३६ प्रतिशत स्वर्ण पदक आफ्नो नाममा गर्‍यो । यस्तै चीनले ८९ रजत र ८३ कांस्य गरी कुल ३ सय ४१ पदक जित्यो ।

आयोजक राष्ट्र जापान ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित कुल २ सय ६९ पदक जित्दै दोस्रो स्थानमा रह्यो । दक्षिण कोरिया ३९ स्वर्णसहित कुल १ सय ५० पदक हात पार्दै तेस्रो भयो । यस संस्करणमा दक्षिण र मध्य एसियाली राष्ट्रहरूको सुधार विशेष रह्यो । 

भारतले २१ स्वर्ण, २७ रजत र ३७ कांस्यसहित कुल ८५ पदक जित्दै चौथो स्थान हासिल गर्‍यो भने उज्वेकिस्तानले २१ स्वर्णसहित कुल ७० पदक जित्दै पाँचौँ स्थान कब्जा गर्न सफल भयो । यसपालि धेरै खेलाडीले व्यक्तिगत कीर्तिमान र ऐतिहासिक सफलता हात पारे ।

पौडीतर्फ जापानका शिन ओहाशीले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा नयाँ विश्व कीर्तिमान कायम गरे । उनले निर्धारित दुरी २ मिनेट ४ दशमलव ८३ सेकेन्डमा पूरा गर्दै इतिहासमै पहिलो पटक २ मिनेट ५ सेकेन्डको थ्रेसहोल्ड तोड्ने खेलाडी बनेर स्वर्ण जिते ।

ट्र्याक एन्ड फिल्डतर्फ बहराइनकी विनफ्रेड याभीले एउटै एसियाडमा ५ हजार मिटर, १० हजार मिटर र स्टिपलचेज गरी तीनवटै विधामा स्वर्ण जित्दै ऐतिहासिक 'ट्रेबल' पूरा गरी दुर्लभ कीर्तिमान बनाइन् । चीनकी यू जिदीले महिला २०० मिटर बटरफ्लाई र ४०० मिटर इन्डिभिजुअल मेड्लेमा नयाँ एसियाली खेलकुद कीर्तिमान बनाउन सफल रहिन् ।

सुटिङतर्फ भारतका निरु धान्दा र काइनान चेनाईको जोडीले मिक्स टिम ट्रयापमा ३४ अङ्कको नयाँ एसियाली कीर्तिमान र भारतकै महिला कम्पाउन्ड आर्चरी टोलीले २ सय ३८ अङ्क ल्याएर विश्व कीर्तिमान बराबरी गरे ।

गल्फतर्फ भारतकै प्रणवी उर्सले १५-अन्डर २ सय ६५ को उत्कृष्ट स्कोरसहित सन् २००२ पछिको पहिलो व्यक्तिगत गल्फ स्वर्ण हात पारिन् । यस्तै, पुरुष क्रिकेटको फाइनलमा भारतले पाकिस्तानलाई १९ रनले हराएर स्वर्ण जित्यो ।

एसियाली खेलकुदमा नेपालले २१ खेलमा १ सय ३५ खेलाडी सहभागी गराएको थियो । उद्घाटन समारोहमा बक्सर चन्द्रबहादुर थापा र कबड्डी टोलीकी कप्तान मनमती विष्टले नेपालको झण्डा बोकेका थिए । तर, नेपालले जम्मा २ कांस्य मात्र जित्यो । पदक तालिकाको ३६औँ स्थानमा रह्यो । 

नेपालले कराते, क्रिकेट र गल्फबाहेक अरू खेलमा खासै चुनौती दिन सकेन । करातेको पुरुष ८४ केजीभन्दा माथि तौल समूहमा तेन्जिङ शेर्पाले लाओसका भताना साइसेनलाई ९-१ ले हराउँदै नेपालका लागि पहिलो कांस्य जिते । यस्तै, नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रोपटक एसियाली खेलकुदमा कांस्य पदक जित्ने सफलता दोहोर्‍यायो ।

क्रिकेटमा समूह चरणमा अफगानिस्तानलाई पराजित गरी क्वार्टरफाइनल पुगेको नेपाली टोली श्रीलङ्काविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि भने निम्न वरीयताका कारण बाहिरिन पुगेको थियो ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।