लुम्बिनीमा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका आफन्तले अझै पाएनन् राहत (रिपोर्ट)

चैत्र १५, २०७९ |सविता जीसी|जे पाण्डे
लुम्बिनीमा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका आफन्तले अझै पाएनन् राहत (रिपोर्ट)

बाँके । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका व्यक्तिका आफन्तलाई लुम्बिनी प्रदेश सरकारले दिने भनेको एक लाख रुपैयाँ मृतकका आफन्तले अझैसम्म पाउन सकेका छैनन् । प्रदेशका १२ जिल्लामा तीन हजार ४ सय ७ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो । तीमध्ये ९ सय ६४ जना मृतकका परिवारले राहत पाउन सकेका छैनन् ।

लुम्बिनी प्रदेश सरकारले २०७६ चैत १० गते कोरोना भाइरस संक्रमितलाई उपचार गर्ने भन्दै १० करोड रुपैयाँको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष स्थापना गरेको थियो । लगत्तै दुई महिनापछि २०७७ जेठ २० गते संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गर्‍यो । तर अझैसम्म पनि ९६४ जना मृतकका आफन्तले, सरकारले दिने भनेको राहत रकम पाएका छैनन् ।

लुम्बिनी प्रदेश सरकारले २०७६ यता संक्रमण नियन्त्रण तथा उपचार र राहतका लागि अहिलेसम्म एक अर्ब ६ करोड १४ लाख भन्दा बढी रुपैयाँ खर्च गरिसकेको छ । तर संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवार राहत रकमको खोजीमा प्रशासन र स्वास्थ्य कार्यालय धाउँदै आए पनि रकम पाउन सकेका छैनन् । लुम्बिनी प्रदेशका १२ वटा जिल्ला प्रशासन कार्यालयमार्फत राहत रकम दिने भनिए पनि सरकारले बजेट नपठाउँदा वितरण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत हरिप्रसाद शर्माले जनाएका छन् ।

लुम्बिनी प्रदेशको उपचार तथा राहत कोषमा ६ करोड ३६ लाख रुपैयाँ मात्र रहेकाले राहत दिन रकम अभाव देखिएको भन्दै प्रदेश सरकार पन्छिने गरेको छ । यता, स्वास्थ्य कार्यालयहरुले छिटो रकम पठाइ संक्रमणबाट मृत्यु हुनेका परिवारलाई उपलब्ध गराइ दिन ताकेता गर्दै आएका छन् ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकामध्ये कतिपय परिवारले राहतका लिन चाहिने आवश्यक कागजपत्र जुटाउन नसक्दा, प्रशासन कार्यालयमा सम्पर्क राख्न नआएकाले र तथ्यांक फरक परेकाले पनि राहत पाउन सकेका छैनन् । 


Image

सविता जीसी

जीसी बाँकेस्थित कान्तिपुर टेलिभिजनकी क्यामेरा पर्सन हुन् ।

Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।