काठमाडौं । गत आर्थिक वर्षदेखि राष्ट्रिय निकुञ्जसहित संरक्षित क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी ठप्प छ।
यसलाई राज्यकै सफलताका रुपमा हेरिएको छ । तर, मानव र वन्यजन्तुको द्वन्द्वले हुने वन्यजन्तुको मृत्युमात्र होइन, मानिसकै मृत्यु पनि घटाउनुपर्नेमा संरक्षणकर्मीको जोड छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म अर्थात् १० महिनामा राष्ट्रिय निकुञ्जसहित संरक्षित क्षेत्रमा कुनै पनि वन्यजन्तुको चोरी शिकारी नभएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको दाबी छ ।
विभाग भन्छ- एउटै पनि जनावर चोरी शिकारी नभएको यो दोस्रो वर्ष हो । सरकारले लिएको नीति, नागरिकले पुर्याएको सहयोग, संरक्षणकर्मीको पैरवी तथा सक्रियता एवं दातृ तथा साझेदार निकायहरुको सहायोगले चोरी शिकारी घटेको जानकारहरुको दाबी छ ।
प्राकृतिकसहित अन्य कारणले हुने वन्यजन्तुको मृत्यु पनि केही वर्ष यता घटेकै देखिन्छ। अघिल्लो आर्थिक वर्षमा ३ सय ३९ वन्यजन्तुको मृत्यु भएको थियो। सवारीको ठक्कर र कुकुरको आक्रमणले १ सय २२ वन्यजन्तु मरेका थिए। यो वर्षको वैशाखसम्ममा २ सय २३ वन्यजन्तु मरेका छन् ।
यीमध्ये सयभन्दा बढी वन्यजन्तु गाडीको ठक्कर र कुकुरको आक्रमणमा परेका हुन् । वन्यजन्तुको प्राकृतिक मृत्यु भन्नाले उमेर पुगेर, बिरामी भएर, बाघ तथा अन्य शिकारी जनावरको आक्रमणलगायतबाट हुने मृत्यु हो । प्राकृतिकबाहेक वन्यजन्तुको मृत्युका प्रमुख कारण नै सडक दुर्घटना भएको तथ्यांकले देखाउँछ।
यसबाहेक कुकुरको आक्रमणबाट हुने मृत्यु पनि उल्लेख्य देखिन्छ। कुकुरले सबैभन्दा बढी चित्तल र कृष्णसारलाई आक्रमण गर्ने गरेको छ । अध्ययताहरू अब सवारी दुर्घटनाबाट हुने वन्यजन्तुको मृत्यु कसरी घटाउने भन्ने चासोमा छन्।
त्यसो त मानव वन्यजन्तु द्वन्द्वका कारण वन्यजन्तुमात्र होइन, १२ जना मानिसको समेत मृत्यु समेत भएको छ । यो संख्या चालु आर्थिक वर्षको वैशाखसम्मको हो । अघिल्लो वर्ष बाघ, हात्तीलगायतका जनावरको आक्रमणमा १५ जनाको मृत्यु भएको थियो ।
यता सरकारले यसपटक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई सवा २ अर्ब बजेट विनियोजन गर्यो । यो चालु आर्थिक वर्षको तुलनामा करिब १ अर्बले बढी हो ।