
काठमाडौं । कुनै नयाँ भाइरस वा रोग नेपाल भित्रियो वा भित्रने सम्भावना देखियो भने त्यो कहाँबाट आयो, कसरी फैलिरहेको छ वा कति फैलिन सक्छ भन्ने निगरानी कसले गर्छ ?
दुःखका साथ भन्नुपर्छ, नेपालमा यस्तो एकिकृत प्रणाली नै छैन, जसले रोगको जोखिम समयमै पहिचान गरेर नागरिकलाई अग्रिम सचेत गराउन सकोस् । जसका कारण हाम्रोमा रोग भित्रिसकेपछि मात्र सरकार तात्छ । हुन त यस्तो संयन्त्रको आवश्यकता सरकारको नीति, योजना र स्वास्थ्यसम्बन्धी छलफलमा पटक पटक नउठेको होइन, तर यथार्थमा प्रतिविम्बित हुन सकिरहेको छैन ।
विश्व स्वास्थ्य संगठनले आइतबार कंगो र युगान्डामा फैलिएको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्यो । नयाँ ‘बुन्डिबुग्यो’ भेरियन्टसँग जोडिएको यो प्रकोपमा हालसम्म सयौँ शंकास्पद संक्रमण देखिएका छन् भने दर्जनौँ मानिसको मृत्यु भइसकेको छ ।
त्यही समयमा विश्वका विभिन्न क्षेत्रमा हान्टा भाइरसका संक्रमण पनि पुष्टि भइरहेका छन् । विश्व फेरि एकपटक नयाँ संक्रमणहरूको चक्रमा प्रवेश गरिरहँदा नेपालमा एउटा गम्भीर प्रश्न उठिरहेको छ- अर्को महामारी सुरु भए नेपाल त्यसको रोकथामका लागि कति तयार छ ?
कोभिड–१९ पछि नेपालले केही प्रयोगशाला विस्तार गर्यो, सीमामा हेल्थ डेस्क थप्यो र निगरानी प्रणाली बलियो बनाउने प्रतिबद्धता पनि जनायो । तर, स्वास्थ्य विज्ञहरूका अनुसार रोग पहिचान, निगरानी र जोखिम मूल्यांकन अझै टुक्रिएको संरचनामै सीमित छ ।
नेपालमा अहिले पनि कुनै नयाँ संक्रमण देखिएपछि मात्रै प्रणाली सक्रिय हुने अवस्था छ । कुन क्षेत्रमा कुन भाइरस फैलिरहेको छ, कुन रोग समुदायमा भित्रभित्र फैलिन थालेको छ वा जनावरबाट मानिसमा सर्न सक्ने संक्रमणको जोखिम कहाँ बढी छ भन्नेबारे रियलटाइम निगरानी प्रणाली प्रभावकारी छैन ।
अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन- सीडीसीसँग सम्बद्ध सन् २०१७ को एउटा अध्ययनमा नेपाल भ्रमणपछि स्पेन फर्किएका एक पर्यटकमा हान्टा भाइरस संक्रमण पुष्टि भएको उल्लेख छ । मुसाबाट सर्ने यो भाइरस दुर्लभ मानिए पनि यसको मृत्युदर केही प्रकारमा ३० प्रतिशतभन्दा माथि पुग्न सक्छ ।
नेपालमा औपचारिक रूपमा हान्टा भाइरस पुष्टि भएको छैन । तर, विज्ञहरू भन्छन्, पुष्टि नहुनु र संक्रमण नहुनु एउटै कुरा होइन । सीमित परीक्षण क्षमता र कमजोर निगरानीका कारण धेरै संक्रमणहरू पत्ता नै नलाग्ने जोखिम हुन्छ । यही समस्या अन्य संक्रमणमा पनि देखिन्छ ।
नेपालमा बर्ड फ्लू बेलाबेला कुखुरा फार्महरूमा देखिन्छ, डेंगी हरेक वर्ष नयाँनयाँ जिल्लामा बढिरहेको छ । र, जलवायु परिवर्तनसँगै लामखुट्टे पनि उकालो चढिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण एसियामा तापक्रम वृद्धि र अनियमित वर्षाले भेक्टरजन्य रोगको जोखिम तीव्र बनाइरहेको छ ।
तर, नेपालसँग अझै यस्तो एकीकृत संयन्त्र छैन जसले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय जोखिमलाई एउटै ढाँचाबाट निगरानी गरोस् । अहिलेको प्रणालीमा अस्पतालले बिरामी पहिचान गर्छ, नमुना प्रयोगशालामा पुग्छ, त्यसपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रले तथ्यांक संकलन गर्छ ।
धेरैजसो अवस्थामा संक्रमण पुष्टि हुँदासम्म केही दिन बितिसकेको हुन्छ । यही ढिलाइ नै संक्रमण नियन्त्रणको सबैभन्दा ठूलो कमजोरी मानिन्छ । धेरै देशहरूले कोभिडपछि रोग निगरानी प्रणाली पुनःसंरचना गरेका छन् । दक्षिण कोरिया, थाइल्यान्ड र सिंगापुरले रियलटाइम डिजिटल निगरानी, जीनोमिक परीक्षण र एकीकृत कमान्ड प्रणाली विस्तार गरेका छन् ।
अमेरिकाको सीडीसी वा युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलजस्ता संस्थाले सम्भावित महामारीबारे सरकारलाई प्रारम्भिक चेतावनी दिने काम गर्छन् । नेपालमा भने यस्तै संरचना बनाउने चर्चा वर्षौँदेखि दोहोरिँदै आएको छ । सरकारले २०७७/७८ को नीति तथा कार्यक्रममा सीडीसी मोडलको संस्था स्थापना गर्ने घोषणा गरेको थियो ।
त्यसयता हरेक वर्ष नीति दस्तावेजमा यो विषय दोहोरिए पनि संस्था अझै बनेको छैन । स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भने अहिले तयारी अगाडि बढिरहेको दाबी गर्छन् । कोभिड महामारीले एउटा कुरा स्पष्ट बनाएको थियो, संक्रमण सीमाभित्र रोकिन्न ।
एउटा दुर्गम गाउँमा सुरु भएको भाइरस केही सातामै विश्वव्यापी संकट बन्न सक्छ । नेपालका लागि चुनौती केवल अर्को महामारी रोक्ने होइन । चुनौती हो- संक्रमण फैलिनुअघि नै त्यसको संकेत देख्न सक्ने प्रणाली निर्माण गर्नु ।