नर्सहरूको योगदानको स्मरण गर्दै विश्वभर नर्सिङ दिवस मनाइयो, नेपालमा नर्स पलायनको चिन्ता

वैशाख २९, २०८३ |अमृता अनमोल
नर्सहरूको योगदानको स्मरण गर्दै विश्वभर नर्सिङ दिवस मनाइयो, नेपालमा नर्स पलायनको चिन्ता

बुटवल । मे १२ तारिखमा विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । 

यो दिन विश्वभरिका नर्सहरूको योगदानलाई सम्मान गर्ने विशेष अवसर पनि हो । हाम्रा नर्सहरू, हाम्रो भविष्य : सशक्त नर्सहरूले जीवन बचाउँछन् भन्ने नाराका साथ मंगलबार नेपालसँगै विश्वभर नर्सिङ दिवस मनाइरहँदा नेपालमा नर्सहरूको अवस्था चाहिँ कस्तो छ त ? 

सेतो पहिरनमा अस्पताल तथा स्वास्थ्य सस्थामा रात दिन खटेर बिरामीको स्वास्थ्य सेवामा खटिरहने व्यक्ति हुन् नर्सहरू । नर्सिङ पेसा भन्दा बढी सेवा हो । जसले व्यक्तिको स्वास्थ्य रक्षा गर्ने, स्याहारसुसार गर्ने, रोगबाट बचाउने र पुनर्स्थापना गर्ने काम गर्दछन्। 

यसका कामका लागि नर्सहरूले सैद्धान्तिक र व्यवाहारिक ज्ञान प्राप्त गरेका हुन्छन्। नर्सहरूले त्यही ज्ञान बिरामीको जीवनसँग प्रत्यक्ष जोडिएर पालना गर्छन् । नर्सहरू स्वास्थ्य प्रणालीको सहायक शक्ति मात्र होइनन्, मेरुदण्ड हुन्। नेपालमा नर्सहरूको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । 

संघमा अहिलेसम्म एक लाख २८ हजार ८४० सदस्य छन्। तर, अहिले नेपालमा ५० हजार पाँच सय मात्र कार्यरत छन्। नेपालका धेरै स्वास्थ्य संस्थामा नर्सिङ जनशक्ति कम भए पनि सरकारले नर्सिङ व्यवस्थापन गर्न सकेको छैन । यही कारण विदेश जाने र बेरोजगार हुने नर्सहरू बढेका छन् । 

व्यक्तिको स्वास्थ्य रक्षामा अहोरात्र खट्ने नर्सिङ पेसा किन अझै पनि व्यावसायिक बन्न सकेको छैन ? नर्सहरू विरामीको सेवासँगै, आपतकालीन सेवा, स्वास्थ्य शिक्षा तथा जनचेतना संक्रमण नियन्त्रण, औषधि व्यवस्थापनमा खट्छन् । यी नर्सहरूले सरकारी संस्थामा तह अनुसार २० हजारदेखि ५५ हजार रूपैयाँसम्म पारिश्रमिक पाउछन् । तर, निजीमा निकै कम छ । 

नेपालमा काम गर्दै र पढ्दै गर्नका लागि पर्याप्त वातावरण छैन । बढी श्रम गर्नुपर्ने, पढाइअनुसार काम नपाइने र कामअनुसार पारिश्रमिक नपाइने भन्दै धेरै नर्सहरू धमाधम विदेश जान थालेका छन् । कोही पेसाबाट पलायन भएका छन् ।

नर्सहरू धमाधम विदेश पलायन भइरहँदा स्वास्थ्य संस्थामा नर्सहरूको अभाव छ । नर्सहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउन सरकारले नीतिगत सुधार गरेर पढाइ अनुसारको काम, कामअनुसारको पारिश्रमिक, सम्मान र सुरक्षाको वातावरण बनाउनुपर्ने नर्सहरूको सुझाव छ ।

नेपाल सरकारको स्वास्थ्यमन्त्री नर्स बन्नु नेपालका नर्सहरूको लागि गौरव बनेको छ । नर्सहरूको आर्थिक सामाजिक सुरक्षा, सम्मान र सन्तुष्टि विना स्वास्थ्य प्रणाली बलियो र प्रभावकारी हुँदैन । यसमा सरकारले ध्यान दिन जरूरी छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।