बजारका फलफूल कति सुरक्षित ?

विषादी नियन्त्रणमा सरकारको कमजोरी
जेष्ठ १८, २०८३ |कृपाल गौतम
बजारका फलफूल कति सुरक्षित ?

काठमाडौं । बजारमा तपाईंले हेर्दै खाउँखाउँ लाग्ने केरा देख्नुहुन्छ । 

पहेंला पाकेका आँप देख्नुहुन्छ र भर्खर टिपेर ल्याइएजस्ता लाग्ने र हरिया तरकारी देख्नुहुन्छ । तर, पख्नुस् । यस्ता फलफूल तथा तरकारी विषादीयुक्त पनि हुन सक्छन्, जसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पारिरहेका हुन्छन् । 

केन्द्रीय कृषि प्रयोगशालाले गरेको परिक्षणमा विगत ९ महिनामा शुन्य दशमलब ५ प्रतिशत फलफुल तथा तरकारीमा खान अयोग्य हुनेगरी विषादी भेटिएका छन्। विषादी जाँच गर्ने आधुनिक प्रयोगशाला पर्याप्त नहुँदा र बजार तथा सीमा नाकामा गरिने परीक्षण प्रभावकारी नहुँदा यस्ता विषादीयुक्त फलफूल तथा तरकारी सिधैं उपभोक्ताको भान्छामा पुग्ने गरेका छन् ।

बजारमा लहरै सजाइएका राता स्याउ, पहेँला केरा अनि हरिया तरकारी । हामी ढुक्क भएर किन्छौं । किनकि हामीलाई लाग्छ- हामीले खाने फलफूल र तरकारी स्वास्थ्यका लागि लाभदायी हुन्छ । बालीमा लाग्ने रोग तथा कीरा मार्न किसानले विषादी त छर्किन्छन्, तर आकर्षक देखाएर बढी मूल्य पाउने लोभ र सही जानकारीको अभावका कारण, धेरैले बाली काट्ने अन्तिम समयमा समेत अत्यधिक रसायन प्रयोग गरेका हुन्छन् । तर, नेपालमा फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्न जनशक्ति र प्रयोगशाला पर्याप्त छैनन् ।

सिमानाका र ठूला बजारहरूमा कृषि उपजको निगरानी गर्न 'द्रुत जैविक परीक्षण' विधि त छ, तर यो विधिले बजारमा प्रयोग भइरहेका अनगिन्ती आधुनिक रसायनहरूमध्ये केवल 'अर्गानोफस्फेट' र 'कार्बामेट' नामक दुई वटा विषादी समूह मात्र पहिचान गर्न सक्छ।

सबै प्रकारका विषादीको विस्तृत जाँच गर्न आधुनिक प्रयोगशाला चाहिन्छ । यस्तो प्रयोगशाला काठमाडौंसहित देशका सीमित स्थानमा मात्र छ । त्यसमाथि सीमित जनशक्तिको अभावले परीक्षणको दायरा बढ्न सकेको छैन । 'द्रुत जैविक परीक्षण' मा फलफूल वा तरकारीको रस निकालेर विषादीको अवरोध दर हेरिन्छ। 

यदि विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भेटियो भने त्यसलाई सुरक्षित मानिन्छ। ३५ देखि ४५ प्रतिशतको बीचमा भेटियो भने त्यसलाई केही दिन रोकेर राखिन्छ भने ४५ प्रतिशतभन्दा बढी फेला परेमा मानव स्वास्थ्यका लागि पूर्ण रूपमा असुरक्षित ठहर गर्दै बजारमा बेच्न प्रतिबन्ध लगाई तुरुन्तै नष्ट गरिन्छ। 

विगत ९ महिनाको अवधिमा गरिएका परिक्षणमा शून्य दश्मलब ५ प्रतिशत फलफूल तरकारी असुरक्षित देखिएका थिए । तर, यो परिक्षणको दायरा पनि निकै सीमित छ । तर, द्रुत जैविक परीक्षणमा प्राविधिक ढिलासुस्तीका कारण यो प्रभावकारी नभएको व्यवसायी नै बताउँछन् ।

व्यापारीहरूको यो बाध्यताले के देखाउँछ भने, बजारमा आउने धेरैजसो फलफूल तथा तरकारी सिधैं उपभोक्ताको भान्छामा पुगिरहेका छन्। तर, कतिपय उपभोक्तामा यसबारे पर्याप्त सचेतना छैन । प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपालका सिनियर रिसर्चर डा. गोविन्द भण्डारीको नेतृत्वमा काठमाडौँ उपत्यका, रुपन्देही र मुस्ताङका बजार तथा व्यावसायिक फार्महरूबाट स्याउ र केराका ८५ वटा नमुना संकलन गरेर भारतको अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा परीक्षण गरिएको थियो। 

यस अनुसन्धानले परीक्षण गरिएका सबै केरामा निकै बढी मात्रामा विषादीको अवशेष फेला परेको देखाएको थियो भने एउटै स्याउमा ७ प्रकारसम्मका फरक-फरक विषादीका अवशेष भेटिएका थिए । उपभोक्ता संरक्षण ऐनले पनि विषादीयुक्त तथा दूषित खालका खाद्यवस्तु बेच्नुलाई उपभोक्ता हितविरुद्ध भनेको छ । 

त्यसबाट हानीनोक्सानी पुगेमा क्षतिपूर्ति प्राप्त गर्ने अधिकार पनि उपभोक्तालाई दिएको छ । यी खतरनाक विषादी जब हाम्रो शरीरमा प्रवेश गर्छन्, यिनले सिधैं स्नायु प्रणालीमा आक्रमण गर्छन्। सुरुमा सामान्य टाउको दुख्ने वा चक्कर लाग्ने भए पनि लामो समयसम्म यस्तो खाना खाइरहँदा स्मरणशक्ति कमजोर हुने, हर्मोन असन्तुलन हुने, बालबालिकाको शारीरिक तथा मानसिक विकास रोकिने र अन्ततः क्यान्सर जस्ता निकै घातक रोगहरूको रूप लिन सक्छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालमा बर्सेनि ७ सय टनभन्दा बढी घातक रासायनिक विषादी आयात हुने गर्छ जसमध्ये अधिकांश कृषि क्षेत्रमा प्रयोग गइरहेका छन् । त्यसैले अब सरकारले जनशक्तिको बहाना बनाउन छाडेर प्रतिबन्धित रासायनिक विषादीको बिक्रीमा पूर्ण रोक लगाउने, किसानहरूलाई प्राङ्गारिक विधिको तालिम दिने र बजार तथा सिमा नाकामा तत्कालै छिटो नतिजा दिने आधुनिक प्रयोगशाला स्थापना गरी कडा निगरानी गर्न एक सेकेन्ड पनि ढिला गर्नु हुँदैन।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।