
बुटवल । नेपालमा गर्भपतनलाई कानुनी मान्यता प्राप्त छ ।
१२ हप्तासम्मको गर्भ महिलाले आफ्नो राजीखुसीले पतन गराउन सक्छन् । तर, यसबारेमा पर्याप्त ज्ञान नहुँदा र जथाभावी गर्भपतन गर्नखोज्दा महिलाहरूको अकालमै ज्यान जाने गरेको छ । त्यस्तै अप्रिय घटना भएको छ बुटवलमा ।
निजी क्लिनिकमा गर्भपतन गराउन खोज्दा गीता पाण्डेको मृत्यु भएको छ । गर्भपतन गराउन निजी क्लिनिकमा यता र उता धाउँदा पाल्पाकी गीता पाण्डेको बुटवलमा मृत्यु भएको हो । रूपन्देहीको तिलोत्तमामा बस्ने पाल्पाको बगनासकाली गाउँपालिका २ की २९ वर्षे गीता पाण्डेको पेटमा १२ हप्ताको शिशु थियो ।
स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बिबी राउतले शिशुको धड्कन कम भएको र असामान्य रहेको शंका गरेपछि उनीहरू थप परामर्शका लागि खत्री नर्सिङ होम गएका थिए । खत्री नर्सिङ होमले गर्भपतनका लागि गीतालाई जोनल फार्मेसी पठाएको थियो । जोनलबाट इन्दुलेखा क्लिनिकमा औषधि चलाएर गर्भपतन गराउने प्रयास गरेका थिए ।
गम्भीर अवस्थामा लुम्बिनी सिटी अस्पतालमा लैजाँदा आइतबार मृत्यु भएको हो । मंगलबार गीताका पतिले क्लिनिक सञ्चालक र चिकित्सकको लापरबाहीले गीताको मृत्यु भएको भन्दै किटानी दिनुभएको छ । क्लिनिक सञ्चालकको बेवास्ताले महिलाको ज्यान गएको भन्दै आफन्तहरू आन्दोलित भएका छन् ।
उनीहरूले तीनवटै क्लिनिकमा ताला लगाइ दिएका छन् । गीताको ज्यान गएपछि बुटवल प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । गर्भपतन गराउन भूमिका खेल्ने खत्री नर्सिङ होम तथा पोलिक्लिनिकका डा. डिबी खत्री, सन्ध्या बस्नेत, जोनल क्लिनिकका निलम घर्तीमगर, इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे र इन्दुलेखामा कार्यरत डा. शतिश रूपाखेतीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो ।
मृतकका पति प्रकाशको जाहेरीका आधारमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । गर्भपतन गराउने क्रममा मृत्यु भएकी गीताको मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले समेत छानबिन गर्ने भएको छ ।
मंगलबार इलाका प्रहरी कार्यालयमा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीबाट मृत्यु भएको भन्दै किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।

