मोजिन्हाको जादु

असार २, २०८३ |अभय बस्नेत
मोजिन्हाको जादु

काठमाडौं । फुटबललाई अनिश्चितताको खेल त्यसै भनिएको होइन।

एकातिर विश्व फुटबलको महाशक्ति तथा पूर्व विजेता स्पेन, अर्कोतिर पहिलो पटक विश्वकपको मञ्चमा पाइला टेकेको मात्र ५ लाख जनसंख्या भएको सानो टापु राष्ट्र केप भर्ड। कागजमा स्पेन धेरै बलियो देखिए पनि एटलान्टाको मैदानमा नतिजा अर्कै आयो। र, यो ऐतिहासिक बराबरीको नायक बने- ४० वर्षीय गोलकिपर मोजिन्हा । विश्वकप रोमाञ्चकताले भरिदै गर्दा आज त्यस्तै गोलकिपर मोजिन्हाको चर्चा ।

फुटबलमा कहिलेकाहीँ यस्तो समय आउँछ जसले पैसा, शक्ति र अनुमान सबैलाई गलत सावित गरिदिन्छन् । जारी विश्वकमपमा जुन १५ अर्थात् सोमबार साँझ एटलान्टामा त्यस्तै एउटा इतिहास रचियो । एकातिर विश्व फुटबलको महारथी स्पेन, अर्कोतिर पहिलो पटक विश्वकप खेल्दै गरेको सानो टापु राष्ट्र केप भर्डे । 

सायद कसैले सोचेका थिएनन्, यो खेल गोलरहित बराबरीमा सकिनेछ । तर, स्पेन र जितको बाटोमा एउटा ४० वर्षीय गोलकिपर उभिएको थियो, जसको नाम हो जोसिमार जोसे इभोरा डियास, अर्थात् मोजिन्हा । स्पेन यो विश्वकप जित्ने मुख्य दाबेदारमध्ये एक राष्ट्र हो । 

टोलीमा बालोन डाेओर विजेता रोड्रीदेखि बार्सिलोनाका १८ वर्षीय जादुगर लामिन यामलसम्म थिए । स्पेनले खेलमा ७४ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्यो र २७ पटक गोल गर्ने प्रयास गर्‍यो । तर, केप भर्डको रक्षापंक्ति र मोजिन्हाको गोलकिपीङको अगाडि उनीहरूको केही लागेन ।

मोजिन्हाले त्यो खेलमा ७ बचाउ गरे । खेलको उत्तरार्धमा लामिन यामल मैदान प्रवेश गरेपछि स्पेन झन् आक्रामक भयो, तर मोजिन्हाले 'म्यान अफ द म्याच' प्रदर्शन गर्दै स्पेनलाई रित्तै फर्काए । केप भर्डले पूरा खेलमा केवल एक पटक मात्र फाउल गर्‍यो, जुन सन् १९६६ पछिको विश्वकप इतिहासमै सबैभन्दा कम फाउलको कीर्तिमानसमेत हो । 

मोजिन्हाको प्रदर्शन कत्तिसम्म तारिफयोग्य थियो भने विश्वकपमा स्पेनविरुद्धको खेलअघि उनको सामाजिक सञ्जाल इन्सटाग्राममा करिब ४० हजार फरोअर्स थिए । तर, स्पेनविरुद्धको उनको पर्फर्मेन्सपछि भने हामीले यो भिडियो तयार पार्दासम्म उनका फलोअर्सको संख्या ६ मिलिमन पुगेको छ । 

अर्थात् करिब ६० लाख मानिसले सामाजिक सञ्जालमै पुगेर उनलाई फलो गरेका छन् । उनको बारेमा अझ रोचक कुरा त के छ भने फुटबल खेलाडीहरुको बजार मूल्य निर्धारण गर्ने वेबसाइट ट्रान्सफरमार्केटमा उनको बजार मूल्य स्पेनविरुद्धको खेलअघि मात्र ५० हजार युरो थियो । 

जुन नेपाली राष्ट्रिय टोलीका गोल रक्षक किरण चेम्जोङको बजार मूल्यसँग मेल खान जान्छ । को हुन् त मोजिन्हा ? पोर्चुगिज भाषामा 'मोजिन्हा' को अर्थ 'सानी हजुरआमा' हुन्छ । उनको जन्म केप भर्डको माइन्डेलोमा भएको थियो । बुबा सैनिक सेवामा र आमा काममा व्यस्त हुने भएकाले उनलाई हजुरआमाले हुर्काउनुभएको थियो । 

सानैमा साथीहरूसँग खेल्दा झगडा पर्दा उनी सधैं रुँदै हजुरआमाकहाँ जाने भएकाले उनलाई जिस्क्याउँदै साथीहरुले यो नाम राखिदिएका थिए । पछि उनले गर्वका साथ यही नाम आफ्नो जर्सीमा लेख्न थाले । मोजिन्हा २५ वर्षमा मात्र व्यावसायिक खेलाडी बनेका हुन् । 

उनी हाल पोर्चुगलको दोस्रो डिभिजनको क्लब चाभेसबाट खेल्छन् र सोमबारको खेलपछि ४० वर्षको उमेरमा विश्वकपमा डेब्यू गर्ने उनी इतिहासकै दोस्रो सबैभन्दा पाका खेलाडी बने । खेल सकिएपछि मोजिन्हा मैदानमै बसेर रोए । आफूलाई हुर्काउने हजुरआमा र हजुरबुबा यो सफलता देख्न नपाएकोमा उनी दुखी भए । 

झन् दुखको कुरा उनकी आमा पनि रंगशालामा थिइनन् । अमेरिकी भिसाका लागि चाहिने रकम जुटाउन नसक्दा उनकी आमा छोराको यो ऐतिहासिक सफलताको साक्षी बन्न सकिनन् र खेल टेलिभिजनमा मात्र हेरिन् । तर, यो प्रदर्शनले उनलाई रातारात विश्वको स्टार बनायो । 

ब्राजिलको प्रसिद्ध क्याजे टिभीले उनलाई फलो गर्न चलाएको अभियानले मोजिन्हालाई एकै दिनमा इन्टरनेट सेन्सेसन बनाइदियो । तपाईंलाई मोजिन्हाको यो प्रदर्शन कस्तो लाग्यो ? के केप भर्ड अर्को चरणमा पुग्न सक्ला ? 


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।