
जाजरकोट । पचास शैय्याको जाजरकोट अस्पतालमा आवश्यक उपकरण अभावका कारण स्वास्थ्य सेवा प्रभावित बनेको छ ।
अस्पतालमा विभिन्न विशेषज्ञ डाक्टर कार्यरत रहे पनि आधुनिक स्वास्थ्य उपकरण नहुँदा बिरामीले सहज र गुणस्तरीय सेवा पाउन सकेका छैनन् । जाजरकोट अस्पतालको एक्स-रे सेवा नै सरकारको मापदण्डविपरित सञ्चालन भइरहेको छ ।
सरकारको स्वास्थ्य संस्था मापदण्डअनुसार ५० शैय्याको अस्पतालमा न्यूनतम ३०० एमएको एक्स-रे मेसिन प्रयोग गर्नुपर्ने व्यवस्था रहे पनि जाजरकोट अस्पतालमा हाल १०० एमएको पुरानो मेसिनबाटै सेवा सञ्चालन भइरहेको हो । पचास शैयाको अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिए पनि आवश्यक प्रविधि र उपकरणको अभावले सेवा प्रभावकारी बन्नसकेको छैन ।
जसका कारण सामान्यदेखि जटिल प्रकृतिका बिरामी उपचारका लागि आउने भए पनि पर्याप्त उपकरण नहुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ । अस्पतालमा सीमित स्रोतसाधनका बीच स्वास्थ्यकर्मीले सेवा सञ्चालन गरिरहेका छन् । सहज स्वास्थ्य सेवाका लागि चिकित्सकको उपलब्धता मात्रै पर्याप्त नहुने, बरू गुणस्तरीय उपकरण, आधुनिक प्रविधि र सुरक्षित पूर्वाधार व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।
अस्पताल प्रशासनले आवश्यक उपकरण व्यवस्थापनका उपकरणका लागि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिए पनि हालसम्म उपलब्ध हुनसकेको छैन । पर्याप्त बजेट र आधुनिक उपकरण उपलब्ध भए जिल्लामै प्रभावकारी विशेषज्ञ सेवा सञ्चालन गर्न सकिने छ ।