दशैंको छेको पारेर देशैभर तीन नेपाली चलचित्र प्रदर्शनमा आए- १२ गाउँ, छक्का पञ्जा ५, र ज्वाइँसाब । यी तीन चलचित्र मध्ये छक्का पञ्जा ५ र ज्वाइँसाबको रिलिज डेट जुधाएकोमा सामाजिक सञ्जालमै कलाकार र फिल्मकर्मीहरु आफैंमा बाझाबाझ गरेको सबैले देखेकै थिए । फिल्महल नगई बाहिरबाट हेर्दा १२ गाउँ एक्सनमा र छक्का पञ्जा ५, ज्वाइँसाब कमेडी जनरामा बनेको अड्कल काट्न सकिन्थ्यो ।
दशैं सकिएपछिको एक साँझ । दाइ-साथीहरुसँग चिया पसलमा बसेर फिल्मका गफ गर्दै गर्दा, १२ गाउँ हेरौं भन्ने कुरो उठ्यो । ‘मनसरा’पछि नेपाली सिनेमा हेर्न हल नछिरेको ६ महिना भइसकेको थियो । यही ६ महिनाको छिर्द्र पुर्न भएपनि हेर्नै पर्ने भयो, हेरियो ।
१२ गाउँ
राजेश हमालका फिल्म बिस्तारै चल्न छोड्दै गर्दा नेपाली चलचित्रमा एक एक्सन नायकको आगमन भएको थियो । ती थिए- बिराज भट्ट, उर्फ भोजराज भट्ट । त्यो बेला हमालको एक्सन विरासत अरुले नसकेपनि अब विराज भट्टले सम्हाल्छन् भन्ने चर्चा दर्शक जगत्मा नचलेको होइन । तर उनका नेपाली फिल्महरु हिट हुँदै गर्दा फाट्टफुट्ट खेलिरहेको भोजपुरी सिनेमामै फुलटाइम दिन सन् २०११ पछि बिराज भारत तिर लागे ।
साउथ इन्डियन फिल्म हेरिराख्ने दर्शकको लागि ‘१२ गाउँ’ कतै देखे जस्तो, कतै सुने जस्तो लाग्न पनि सक्छ ।
अहिले उनै नायकले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘१२ गाउँ’ को चर्चा यतिबेला सहरमा छ । भलै उनी यो १२ वर्षको बीचमा जय परशुराम र साँङ्ग्लोमा नायकको भूमिकामा पुनः देखिएका थिए ।
दर्शकको आँखाबाट देखिएको ‘१२ गाउँ’
फिल्मका लेखक सन्तोष सरकार हुन् । बाहिरको दुनियाँबाट सम्पर्कमा नरहेको एउटा परिवेशको कल्पनाबाट कथाको सुरुवात हुन्छ, र फिल्मको अधिकांश भाग यसमै केन्द्रित छ । यसको कथा चल्तीका नेपाली फिल्म भन्दा फरक लागेपनि साउथ इन्डियन फिल्म हेरिराख्ने दर्शकको लागि कतै देखे जस्तो, कतै सुने जस्तो लाग्न पनि सक्छ । हुन त निर्देशक भट्ट आफैले फिल्म रिलिज अघि भनेकै थिए- साउथ फिल्म हेरेर रमाएका दर्शकका लागि नेपालमै यो चलचित्र बनाएको हुँ ।
निर्देशकले कथाले बोकेको व्यापकता पूर्ण रुपमा दृश्यमा उतार्न सकेका छैनन् । कथामा देखिएका पात्र र तिनको उपस्थितिले दर्शकको मनमा अनेक प्रश्नहरु खडा हुन्छन्, जस्को उत्तर पर्दामा नदेखिनु निर्देशकीय कमजोरी मान्न सकिन्छ । तरपनि दर्शकलाई पर्दाबाट आँखा हटाएर हलमा कतिवटा एसी/सिट छन् भनेर गन्नुपर्ने स्थिति आउन भने दिएका छैनन् ।
दृश्यमा देखिने सानातिना कमिकमजोरीमा आँखा चिम्लिदिने हो भने प्राविधिक रुपमा खोट लाउने ठाउँ कमै देखिन्छ । पर्दामा नायकको इन्ट्री हुँदा सिठी बजाउने दर्शक बुझेका निर्देशक भएकोले पनि होला, एक्सन र डायगलबाजी निकै नै आउँछन् । जसमा हल भित्रका दर्शकले राम्रैसँग मनोरञ्जन लिएको देखियो ।
निर्देशकको भोजपुरी फिल्म अनुभवले होला- अडियो क्वालिटीको मामलामा सँधै झुर देखिने नेपाली फिल्म यो पटक भने खरो रुपमा प्रस्तुत भएको छ । दृश्य सुहाउँदो ब्याकग्राउण्ड म्युजिक र स्तरीय डबिङले फिल्मलाई साथ दिएको छ तर फिल्मका गीतहरु भने त्यति कर्णप्रिय लाग्दैनन् ।
१२ गाउँ हेरेर हलबाट निस्किदै गर्दा लक्ष्मण दाइले सोधे- ‘भोलि छक्का पञ्जा पनि हेर्ने हो ?’ ‘हुन्छ दाइ ! मिल्यो भने हेर्दिऊँ, के जान्छ र ?’ भन्दै घरतिर लाग्यौं । घर पुगेको केही समयमै मोबाइलमा छक्का पञ्जा ५ को टिकट आइपुग्यो ।
द्वन्द्व निर्देशकको रुपका स्टन्ट सिल्भा र शंकर महर्जन छन् । तमिल फिल्मका परिचित स्टन्ट डाइरेक्टर स्टन्ट सिल्भाको द्वन्द्वले नेपाली दर्शकलाई नयाँ स्वाद दिएको छ । उनको द्वन्द्व निर्देशन यात्रा राजामौलीको निर्देशनमा बनेको फिल्म यमडोंगा (२००७) बाट सुरु भएको हो । यो बीचमा उनले करिब १२० वटा साउथ इन्डियन फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरे । जसमध्ये केही फिल्म सुपरहिट भएका छन् । १२ गाउँमा उनी आफै पनि कलाकारको रुपमा देखिएका छन् ।
बिराज भट्ट, निर्देशन सँगसँगै आफै पनि नायकको भूमिकामा छन् । अर्को नायकको भूमिकामा बिराज भट्टका जेठा छोरा समिर भट्ट छन्, यो उनको पहिलो नेपाली सिनेमा हो । तर उनको एक्सन हेरेपछि उनी पहिलो पल्ट हलको पर्दामा देखिएका हुन भन्ने कुरा बिर्साइदिन्छन् । कथाले नायकको टाइटल समिरलाई दिएपनि फिल्म हेरिसकेपछि, फिल्मको नायक बिराज हुन कि समिर हुन भन्ने कुरामा दर्शक झुक्किन पनि सक्छन् ।
नायिकाको भूमिकामा भारतीय टेलिसिरियलकी कलाकार सोनू चन्द्रपाल छिन्, भने अरु नायिकामा न्यान्सी खड्का र सनिशा भट्टराईको अभिनय रहेको छ । मुरलीधर, दिया मास्केलगायत परिचित कलाकार देखिए पनि धेरैजसो कलाकार नयाँ अनुहारका लाग्छन् । पारिवारिक उत्पादन भएर होला अरु कलाकार भन्दा फिल्म बिराज र समिर कै वरीपरी घुमेको छ ।
१२ गाउँ हेरेर हलबाट निस्किदै गर्दा लक्ष्मण दाइले सोधे- ‘भोलि छक्का पञ्जा पनि हेर्ने हो ?’ ‘हुन्छ दाइ ! मिल्यो भने हेर्दिउ, के जान्छ र ?’ भन्दै घरतिर लाग्यौं । घर पुगेपछि केही समयमै मोबाइलमा छक्का पञ्जा ५ को टिकट आइपुग्यो ।
छक्का पञ्जा ५
नेपाली सिनेमा जगत्मा चारवटा राम्रो कमाई गरेको सिक्वेल पछि आएको यो पाँचौ सिक्वेल हो । ६ एकान ६ बाट सुरु भएको दीपक–दिपाको फिल्म निर्माण यात्रा छक्का पञ्जा ५ सम्म आइपुग्दा पनि कथा, पात्र, निर्माण शैली र जनरामा केही फेरबदल भएको अनूभूति दर्शकले गर्न पाएका थिएनन् ।
दिपाश्री निरौलाको निर्देशनमा बनेको यो चौथो फिल्म हो । दीपकराज गिरीले फिल्मको कथाको सुरुवातमा सरकारी निकायमा हुने भ्रष्टाचारी प्रवृत्तिले एउटा असल सरकारी कर्मचारीको जीवनमा पार्ने प्रभावलाई उठाउन खोजेको देखिन्थ्यो । तर फिल्मको अन्त्यसम्म पुग्दा कथा र पात्रमा आएको परिवर्तनले, दर्शकले बीचमा केही छुटाएँ कि ? भनेर फेरि सम्झिनु पर्ने अवस्था आउँछ ।
फिल्ममा केही ‘कलाकारको भूमिकाभन्दा शालिकको भूमिका धेरै’ छ र केदार घिमिरेको हाँस्नै पर्ने जबरजस्तीको डाइलगले मात्र ‘छक्का पञ्जाको लिगेसी’ जोगाइदिएको छ भन्दा फरक नपर्ला ।
कथामा पृथ्वीनारायण शाहको आदर्श पछ्याएको एउटा ठकुरी परिवार र उसले बोल्ने लवजले दर्शकलाई सुरुमा रमाइलै लागेको देखिन्थ्यो । कथा अघि बढ्दै जाँदा संवादमा आइराख्ने ‘आइस्योस्’, ‘गैस्योस्’ र पृथ्वीनारायणको शाहको शालिकको आवश्यकता भन्दा बढीको उपस्थितिले झिँझो लाग्न थाल्छ ।
त्यसो त फिल्मको कथामा देखिने केही कलाकारको भूमिका भन्दा शालिकको भूमिका धेरै छ भनिए गलत नहोला । अघिल्ला छक्का पञ्जाहरुमा नायकको भूमिकामा देखिएका दीपकराज गिरी र अहिले छक्का पञ्जा ५ मा पनि नायकै भएका गिरीको अभिनयमा फरकपन भने देख्न पाइँदैन । भलै उनले यसपल्ट कमेडी नभएर गम्भीर पात्रको रुपमा आफूलाई उभ्याउन खोजेका छन् ।
यसपटकको छक्का पञ्जामा कमेडी गर्ने जिम्मा केदार घिमिरेको भागमा मात्र परेको देखिन्थ्यो । घिमिरेको हाँस्नै पर्ने जबरजस्तीको डाइलगले मात्र छक्का पञ्जाको लिगेसी जोगाइदिएको छ भन्दा फरक नपर्ला । फिल्मको अन्त्यतिर आउने एयरपोर्टको सिनले देशको अवस्थाको सटिक चित्रण गरेको देखिन्थ्यो, जसले गर्दा हलभित्र केहिसमय सन्नाटाको माहोल पनि सृजना हुन्छ । प्रकाश घिमिरे, रमेश बुढाथोकी, राजाराम पौडेलको अभिनयले कथामा प्राण भरिदिएको छ ।
‘देख न चम्पा, सुन न चम्पा’, ‘पूर्वपश्चिम रेल’जस्ता हिट गीत दिएको छक्का पञ्जा सिक्वेलले यो पल्ट पनि त्यो यात्रा भने कायम राख्यो । भलै ‘ब्रेक अप सङ’ नाम दिइएको गीत फिल्म रिलिज हुुनु अघि नै सर्वत्र आलोचित थियो । फिल्म हेरिसकेपछि लाग्यो त्यो गीत हुनु र नहुनुले फिल्ममा खास्सै कुनै प्रभाव राख्दैन । फिल्ममा, एउटा आर्दश परिवारमा बुहारीको प्रवेश र उसको विदेशिने मोहलले बाबु-छोराको जीवनमा आउने हलचल देखाउँदै गर्दा छक्का पञ्जाका अघिल्ला केही सिक्वेलमा लागेको स्त्रीद्वेषीको आरोप यता पनि नआउला भन्न सकिन्न ।
फिल्म सकाएर हलबाट निस्किँदै गर्दा फेरि लक्ष्मण दाइले भने, दुईटा त हेरियो भाइ । अब बाँकी बसेको एउटा छ, त्यो पनि हेरौं । ओक्के...त्यसो भए भोलि नै हेरौं भन्दै छुट्टियौं ।
ज्वाइँसाब
यस फिल्मको कथा शंकर धिताल र निर्देशन वसन्त निरौलाले गरेका हुन् । निरौलाको निर्देशनमा यस अघि ५ चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् ।
फिल्मको कथा विवाह र विवाहपछि घर ज्वाइँ बस्ने नायककै पेरिफेरिमा केन्द्रित छ । कथा बाहिरबाट हेर्दा असामान्य लागे पनि फिल्ममा युवाहरुले घरज्वाँइ बस्न गरेको संघर्ष हलको पर्दामा सहजरुपमा बग्नु निर्देशकीय क्षमता मान्न सकिन्छ ।
कथा, परिवेश र गम्भीर नलाग्ने संवादले फिल्मलाई इन्टरभलसम्म मज्जाले दौडाएको छ । इन्टरभल पछिको कथा कही कतै स्लो हो कि भन्ने लागेपनि केही समयमा निर्देशकले फेरि लय पकड्छन् । फिल्ममा देखिएका दृश्य र स्थानले पनि दर्शकलाई आनन्दित गराउँछ । जुन अघिल्ला माथिका दुई फिल्ममा कम देखिएका थिए । अस्वभाविक र जबरजस्ती हसाँउन खोज्ने संवाद कम बोलेर होला, पात्रहरुले आफ्नो चारित्रिक गाम्भीर्यतालाई राम्रैसँग न्याय गरेको देखिन्थ्यो ।
केही सिनमा ब्याकग्राउन्ड म्यूजिक परिवेश सुहाउँदो थिएन तर फिल्मका गीतहरुमा भने दर्शकले राम्रैसँग मनोरञ्जन लिए । नायकको भूमिकामा जितु नेपालले आफ्नो पात्रलाई निकै राम्रोसँग निभाएका छन् । भलै उनले उस अघिको आफ्नो छविलाई फेर्नै भने सकेनन् ।
नायिकामा नीति शाह, र अरु कलाकार, बुद्धी तामाङ, रमेश बुढाथोकी र प्रकाश घिमिरेको अभिनय प्रशंसायोग्य छ । फिल्ममा सानो भूमिकामा देखिएका सन्दीप क्षेत्रीले दर्शकलाई मज्जाले हँसाएर आफ्नो छाप छोड्न सफल भएका छन् । निर्देशकले २ घण्टा नायकको मात्र कथा देखाइदिँदा हलबाट निस्किएका दर्शकको मनमा नायिकाको बारे धेरै नै कौतुहलता उब्जिएको देखिन्थ्यो जसकाे उत्तर निर्देशकले फिल्ममा दिँदैनन् ।
संसारभरि नै अघि-पछि समय पारेर रिलिज फिल्ममा लोकसन मिल्नु सामान्य नै मान्ने गरिन्छ । तर त्यसमा पनि उस्तै र उही नदेखियोस् भनेर निर्देशकहरु सधै निकै सचेत हुने गर्दछन् । एकैदिन रिलिज भएका फिल्म, १२ गाउँमा देखिएको पात्रको घर, र ज्वाइँसाबको एउटा पूरै गीतमा देखिएको घर एकै हुनु रमाइलो संयोग हो वा नेपाली सिनेमा क्षेत्रको फिल्म सुटिङ गर्ने लोकेसनको अभाव हो ? त्यो भने बुझ्न सकिएन ।
यी सामग्रीहरू पनि पढ्नुहोस् :-
दशैँमा लागेका फिल्म : कसले कति कमाए ?