
काठमाडौं । चर्चित नेपाली मोडेल आश्मा विश्वकर्माले सामाजिक सञ्जालमा सार्वजनिक गरेको ४४ सेकेन्डको नृत्य भिडियो अहिले निकै भाइरल भइरहेको छ ।
दक्षिण भारतीय अभिनेता रामचरण अभिनीत फिल्म पेड्डीको गीतमा आधारित उक्त भिडियो सार्वजनिक भएपछि आश्मालाई प्रशंसा गर्नेको संख्या झनै बढेको छ । चर्चित नेपाली मोडल आश्मा विश्वकर्माले तीन दिनअघि सामाजिक सञ्जालमा पोस्ट गरेको ४४ सेकेन्डको भिडिओले अहिले निकै चर्चा पाइरहेको छ ।
दक्षिण भारतीय अभिनेता रामचरण अभिनीत फिल्म पेड्डीको गीत 'चिकरी चिकरी’ मा आधारित भिडियो यो सामग्री तयार पार्दासम्म टिकटकमा १ करोड ६७ पटक हेरिएको छ भने ९ लाख ७८ हजार लाइक छ । फेसबुकमा झन् १ करोड ८९ लाख पटक हेरिएको छ । उक्त गीत सामाजिक सञ्जालमा देखेपछि भिडियो बनाउन मन लागेको आश्मा बताउनुहुन्छ ।
आश्माको प्रस्तुति मूल गीतको नृत्यभन्दा अझ आकर्षक भएको भन्दै दर्शकहरूले प्रतिक्रिया जनाएका छन् । नेपाली सेलिब्रेटीमात्र होइन, बलिउड कलाकारहरूले पनि आश्माको प्रशंसा गरेका छन् । गायिका दीपा झा, पेड्डीकै अभिनेत्री जान्ह्वी कपुर र फिल्मको अफिसियल पृष्ठले आश्माको गीतलाई इन्स्टाग्राममा सेयर गरेका छन् । रामचरणका फ्यान क्लवहरूले समेत भिडियो सेयर गरेर प्रशंसा गरेका छन् ।
दहचोकको स्विटजरल्यान्ड पार्कमा खिचिएको गीतलाई सुरोज अधिकारीले सम्पादन गरेका हुन् । गीत देख्नेबित्तिकै भिडियो बनाउन मन लागेर सहजै निर्माण गरे पनि धुमपानबाट टाढै रहने भएकाले चुरोट तान्नुपर्ने दृश्य निकै कठिन भएको आश्माको भनाइ छ ।
उक्त गीतमा आश्माको पहिरन, डान्स स्टेप र आकर्षक हाउभाउले सबैको ध्यान खिचेको छ । हुन त नृत्यका कारण सधै चर्चामा रहने नाम हो आश्मा । यसअघि थुप्रै म्युजिक भिडियो र स्टेज डान्स भाइरल भइसकेका छन् भने उहाँ कार्टुन्ज क्रु मा पनि आबद्ध हुनुहुन्छ ।
एआर रहमानको संगीत र मोहित चौहानको स्वर रहेको यस गीतमा नेपालका धेरै युवाहरूले समेत रिल्स र टिकटक भिडियो बनाइरहेका छन्। यो गीत विश्वव्यापी रूपमा समेत चर्चामा छ ।