दशैँमा लागेका फिल्म : कसले कति कमाए ?

कार्तिक ३, २०८१ |अवतार राई
दशैँमा लागेका फिल्म : कसले कति कमाए ?

काठमाडौं । दशैंको फूलपातीका दिन तीन नेपाली चलचित्र छक्कापञ्जा ५, १२ गाउँ र ज्वाइँसाब एकसाथ प्रदर्शनमा आए । १० औं दिनसम्म आइपुग्दा तीनवटै चलचित्रमा दर्शक आकर्षित भएको पाइएको छ । सुरुवाती दिनमा छक्कापञ्जा ५ र १२ गाउँको तुलनामा कम शो पाएको ज्वाँईसाबमा समेत दर्शक बढ्न थालेपछि हलहरुले प्राथमिकता दिएका छन् । कति कमाइ गरे त यी चलचित्रले आजसम्म ?

फूलपातीका दिनदेखि तीन चलचित्र छक्कापञ्जा ५, १२ गाउँ र ज्वाँईसाव एक साथ प्रदर्शनमा आए । प्रदर्शनअघि देखि नै चर्चा बटुलेको छक्कापञ्जा ५ लाई हलहरुले समेत प्राथमिकता दिए । तर १२ गाउँको चर्चा र दर्शकहरुको भीड बढेपछि उसले पनि छक्कापञ्जा ५ कै हाराहारीमा शो पायो । हालसम्म १० करोडभन्दा बढी कमाइ गरिसकेको दाबी दुवै चलचित्रका निर्माण पक्षले गरेका छन् ।

यता दुई चलचित्रको तुलनामा कम शो पाएको ज्वाइँसाब प्रदर्शनको पहिलो हप्ता दुई ठूला ब्यानरको फिल्मको चेपुवामा पर्यो र व्यापारसमेत कम भयो । तर राम्रो रिभ्यू र दर्शकको सकारात्मक प्रतिक्रियाका कारण ज्वाइँसाब हेर्ने दर्शकको संख्या पनि बढेपछि हलहरुले पनि प्राथमिकता दिएका छन् । उसले हालसम्म ३ करोड छेउछाउ ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जनाएको छ ।

यी तीन चलचित्र प्रदर्शनमा आउनुअघि नै निश्चल बस्नेत निर्देशित बेहुली फ्रम मेघौली र अशोक थापा निर्देशित खुस्मा लगायतका चलचित्र हलमा थिए । भारी वर्षातको समयमा लागेका दुई फिल्म आँखा र सानो संसार त हलमा लागेको र निक्लिएको पत्तै भएन । 

सानो संसारले फेरि नयाँ प्रदर्शन मिति तोकेको छ । तर फूलपातीदेखि तीन चलचित्रबीच प्रतिस्पर्धा हुँदा पनि दर्शकको कमी भएको छैन । नेपाली चलचित्र उद्योगमा धेरैपछि चलचित्र हेर्न हल पुगेका दर्शक टिकट नपाएर फर्कने अवस्थासमेत बन्यो ।

पछिल्लो समय समाज, संस्कृति र राजनीतिमा आधारित चलचित्र मात्रै बनिरहेका छन् । द्वन्द्व प्रधान चलचित्र फाट्टफुट्ट बने पनि खासै व्यापार गरेका थिएनन् । तर अहिले १२ गाउँमा दर्शक ओइरिदा दर्शकको रुची एक्सनप्रधानमा पनि छ भन्ने देखाएको छ । नेपाली दर्शकले अझै पनि खास स्वाद चलचित्रबाट पाउन नसकेकाले मिहिनेत गरे नेपाली चलचित्रलाई दर्शकको कमी नहुने धेरैको बुझाइ छ ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।