फिल्म चलाउन किन छोपिन्छ चाडपर्वको मौका ?

आश्विन २५, २०८१ |प्रकाश बम
फिल्म चलाउन किन छोपिन्छ चाडपर्वको मौका ?

काठमाडौं । फूलपातीको समय जुराएर तीन वटा चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र १२ गाउँ, छक्कापन्जा ५ र ज्वाइँ साबले पहिलो दिनबाटै सुखद सुरुवात गरेका छन् । मानिस फुर्सदिलो हुने र पैसाको कारोबार पनि बढी हुने मौका छोपेर अधिकांश निर्माताले चलचित्र प्रदर्शनका लागि दशैं तिहारको मौका छोप्ने गरेका छन् । 

दशैंका लागि मानिसहरू देशविदेशबाट आफ्नो थातथलो फर्किएका छन् । मुख्य चाड भएका कारण आफन्तहरूसँग भेटघाट, खानपिन, घुमघाम र मनोरञ्जन गरेर अधिकांशको समय बित्छ यो बेला । त्यसैले अरू बेला सुस्त देखिने चलचित्र बजारले पनि यही मौका छोप्ने गर्छ । निर्माताहरुबीच दशैंतिहारमै चलचित्र प्रदर्शनको होडबाजी चल्छ ।

यसपटक पनि ठूला ब्यानरले दशैं नै रोजे । फूलपातीको अवसर पारेर ‘१२ गाउँ,  छक्का पन्जा-५ र ज्वाइँ साब’ गरी तीन चलचित्र एकै दिन रिलिज भए । पहिलो दिन तीनै चलचित्रले सुखद सुरुवात गरेका छन् । कुनै समय एक्सन स्टारका रूपमा प्रसिद्धि कमाएका विराज भट्टले छोरा समीर भट्टलाई डेव्यु गराएर एक्सन थ्रिलर चलचित्र १२ गाउँ बनाएका छन् । प्रदर्शनअगाडि नै चर्चा बटुल्दै आएको १२ गाउँले राम्रो ओपनिङ गरेको छ । 

व्यवसायमा रेकर्ड बनाउँदै आएको ‘छक्का पन्जा’को सिरिजलाई नै निरन्तरता दिँदै दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको छक्का पञ्जा ५ ले पनि आक्रामक सुरुवात गरेको छ । जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ज्वाइँ साब पनि फुलपातीका दिनदेखि नै प्रदर्शनमा आएको छ । पारिवारिक कथामा आधारित यो चलचित्रले अघिल्ला फिल्मभन्दा निकै कम शो पाएको छ । 

‘छक्का पन्जा-५’ र  १२ गाउँ’ का बिहानको अधिकांश शो हाउसफूल भए भने दिउँसो र साँझका प्राइम टाइम शोमा अधिकांश टिकट बुकिङ भए । टिकट बुकिङ उच्च देखिएपछि मल्टिप्लेक्सहरुले ‘१२ गाउँ’ को शो थपेका छन् । नेपालमा चलचित्र क्षेत्र सानो छ, त्यसमाथि हप्तामा एउटा चलचित्र चलाउन हम्मे हम्मे पर्ने चलचित्र नगरीमा तीन वटा चलचित्र एकसाथ प्रदर्शन भएका छन् । पहिलो दिन हल भरिए पनि बाँकी दिन चलचित्रको अवस्था के हुन्छ, भन्न सकिँदैन ।

बेलाबेला विदेशी चलचित्रकै कारण स्वदेशी चलचित्र प्राथमिकतामा नपरेको भनेर आलोचना हुने गर्थ्यो । तर, पछिल्लो समय दर्शकले नेपाली चलचित्रलाई साथ दिँदै नेपाली निर्मातालाई साहस र ऊर्जा थपिदिएका छन् । यसै त नेपाली चलचित्रको बजार कमजोर छ, त्यसमाथि यसरी एकै पटक चलचित्र जुधाउने प्रतिस्पर्धाले राम्रो नतिजा नदेला कि ?


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement