फूलपातीका दिन ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदै

आश्विन १२, २०८२ |प्रकाश बम
फूलपातीका दिन ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदै

काठमाडौं । यस वर्षको दशैंलाई लक्षित गर्दै असोज १३ गते फूलपातीका दिन तीन प्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदैछन् । 

तीनै चलचित्रका लागि मल्टिप्लेक्सहरूले बिहान साढे ५ बजेदेखि मध्यरात सवा ११ बजेसम्मका शो तोकेका छन् । सोमबारदेखि नै अधिकांश मल्टिप्लेक्सहरूले अग्रिम टिकट बुकिङ सुरु गरिसकेका छ । चाडबाडका बेला चलचित्र प्रदर्शनको मिति जुधाउने प्रतिस्पर्धा यो वर्ष पनि देखिएको छ ।

नायक समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतको अभिनय रहेको द्वन्द्व प्रधान चलचित्र बलिदान असोज १३ गते फुलपातीका दिनदेखि प्रदर्शनमा आउँदै छ । 

सन्तोष सेन निर्देशित ‘बलिदान’ले मल्टीप्लेक्स र सिंगल थिएटर दुवैमा सबैभन्दा बढी शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘बलिदान’ लाई काठमाडौंमा मात्रै ४१ शो दिएको छ । ट्रेलर रिलिज भएदेखि सौगात मल्ल र समिर भटटको एक्सन अवतारको चर्चा छ ।

अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको हरिबहादुरको जुत्ताले समेत दशैं नै रोजेको छ । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्रमा प्रकाश सपुत, प्रियंका कार्की र स्वस्तिमा खड्काको पनि अभिनय रहेको छ । 

सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका ‘हरिबहादुर’ नामक पात्रलाई अब दर्शकले ठूलो पर्दामा पनि देख्न पाउने छन् । कमेडी जनरामा बनेको यो चलचित्रले समसामयिक राजनीतिक विषयवस्तुलाई पनि समेटेको छ । यसको कथावस्तु जेन-जी आन्दोलनसँग मिल्दोजुल्दो रहेको अभिनेता हरिवंश आचार्य बताउनु हुन्छ ।

२०२३ सालमा प्रदर्शनमा आएको निजी क्षेत्रको पहिलो चलचित्र 'माइतीघर' को नाम सापटी लिएर निर्माण गरिएको चलचित्र 'माइतीघर' पनि फुलपातीकै दिनदेखि प्रदर्शनमा आउँदैछ । 

फिल्मको रिक्रिएसन गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतले अहिले चर्चा बटुलिरहेको छ । सामाजिक कथामा बनेको चलचित्रमा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत तथा उपासनासिंह ठकुरीको मुख्य भूमिका छ । 

ट्रेलरमा देखाइएको त्रिकोणात्मक प्रेमकथामा नायक प्रकाश र नायिका उपासनाको प्रेममा धिरजको प्रवेशले उत्पन्न परिस्थितिका साथै प्रकाश र धिरजको एक्सन दृश्यले दर्शकलाइ तान्ने अपेक्षा निर्माण पक्षको छ । 

निर्देशक रोहित अधिकारीले परम्परागत गाउँघर, लोकेशन र छायांकन शैलीमार्फत दर्शकलाई दशैंको अनुभूति गराउने बताएका छन्। तीनै चलचित्रबीच शो विभाजनको अनुपात करिब ४०/३०/३० प्रतिशत देखिएको छ । 

हलले सबेरै बिहान साढे ५ बजेदेखि मध्यरात ११:५५ सम्म शो उपलब्ध गराएका छन्, जसबाट दर्शकले दशैंमा मिठा परिकार र रमाइलोसँगै मनपर्ने चलचित्र हेर्न पाउनेछन् ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।