नेपाली चलचित्रले व्यावसायिक सफलता पाउन कहाँनेर छ कमजोरी ?

आश्विन २, २०८१ |अवतार राई
नेपाली चलचित्रले व्यावसायिक सफलता पाउन कहाँनेर छ कमजोरी ?

काठमाडौं । नेपालमा चलचित्र निर्माणको इतिहास ६ दशक लामो छ । यसबीचमा बर्सेनि एक सय हाराहारीमा चलचित्र निर्माण हुन्छन् । तर, केही औंलामा गन्न सकिनेबाहेक नेपाली चलचित्रको व्यापारको स्थिति भने दयनीय नै छ । निकै प्रचारप्रसारका साथ हलमा लगाइएका चलचित्र पनि एक-दुई दिनमै उत्रिने स्थिति छ । 

व्यापक प्रचारप्रसारपछि गत भदौ २१ गते रिलिज गरिएको पल शाह र पूजा शर्मा अभिनित चलचित्र 'रावायण' तीन दिनमै हलबाट उत्रियो । केही प्रदर्शकले 'सो' राखे पनि दर्शक नआएपछि अर्कै चलचित्र चलाउनुपर्‍यो । पल अभिनित रावायण फ्लपको बाटोमा गएपछि उनकै प्रमुख भूमिका भएको चलचित्र 'मायावी'को रिलिज डेट सारेर पुसमा पुर्‍याइएको छ । 

भदौ १४ गते प्रदर्शनमा आएको किरण केसीको 'वरवधु' त कतिखेर हलमा लाग्यो र उत्रियो थाहै भएन । भारतीय स्टार कलाकार ल्याएर निकै प्रचारप्रसार गरिएको र समीक्षकले पनि उत्कृष्ट भनेको मीन भाम निर्देशित चलचित्र 'शाम्बाला'ले पनि अपेक्षित दर्शक पाइरहेको छैन । नेपालबाट यस वर्षका लागि ओस्करमा पठाउन छनौट गरिएको 'आर्ट मुभी' साम्बालाले हलमा दर्शकलाई कति तान्नसक्छ त्यो हेर्न अझै केही दिन कुर्नुपर्ने हुन्छ । 

दशैं-तिहार केन्द्रित गर्दै प्रदर्शनमा आउने भनिएको दीपकराज गिरी र दीपा श्री निरौलाको 'छक्का पन्जा ५' अनि प्रकाश सपूत र विजय बरालको 'पूर्णबहादुरको सारंगी'ले कस्तो व्यापार गर्लान्, त्यतिखेरै थाहा होला । चलचित्र विकास वोर्डका अनुसार नेपालमा बर्सेनि १ सय हाराहारीमा चलचित्र छायांकन भए पनि आधाजति चलचित्र मात्र प्रदर्शनमा आउँछन् । प्रदर्शनमा आएका अधिकांशको व्यापारको अवस्था यस्तै कमजोर छ । कलाकार एवं निर्देशक मोहन निरौला चलचित्र क्षेत्रमा अरबौंको लगानी छ, यस क्षेत्रका कामदारले पनि राजश्व तिरिरहेका छन् भन्ने सरकारले अनुभूति नगर्नु र यस क्षेत्रमा एक-अर्काबीच सहकार्य नहुनु नेपाली चलचित्र क्षेत्रको विडम्बना भएको बताउनु हुन्छ ।

पहिलो पटक २०२२ सालमा पहिलो चलचित्र 'आमा' निर्माण भएयता नेपाली चलचित्र उद्योगले झन्डै ६ दशकको इतिहास बोकेको छ । यसबीचमा केही सीमित चलचित्रले मात्र व्यावसायिक सफलता पाएका छन् । 

कलाकार एवं दीपाश्री निरौलाले भने नेपाली चलचित्रको अवस्था त्यस्तो वाउ भन्नुपर्ने नभए पनि त्यस्तो दुखद पनि नरहेको बताउनु हुन्छ । उहाँको भनाइ छ, 'बाहिरको चलचित्रहरु सय-डेढ सय वर्ष पुरानो इन्डस्ट्री हो, हाम्रो भरखर ५०-६० वर्ष भयो । तुलनात्मक हिसाबले अलिकति खुम्चिएता पनि आशा लाग्ने कुराहरु धेरै छन् ।'

चलचित्र निर्माण हुन थालेको ६ दशक भए पनि नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक रुपमाले जानै सकेका छैनन् । चलचित्र क्षेत्रको विकासका लागि राज्यको निकायका रुपमा चलचित्र विकास बोर्ड छ । तर, बोर्डले पनि यस विषयमा कुनै पहल गरेको पाइँदैन ।  चलचित्र विकास बोर्डमा हालसालै अध्यक्ष बन्नु भएका दिनेश डीसी चलचित्र उद्योगका मानिसले ऐन-नियममा नबसेकाले र नयाँ ऐन नआएकाले धेरै समस्या देखिएको बताउनु हुन्छ । डीसीले भन्नुभयो, '२०२६ सालमा राजा महेन्द्रले बनाएको ऐनलाई अब २०८१ को ऐनले गभर्न गर्नेगरी हामी काम गरिरहेका छौं ।'

६० को दशकसम्म विदेशी चलचित्रको नक्कल हावी हुने गरेको नेपाली चलचित्र क्षेत्रमा पक्कै केही सकारात्मक परिवर्तन आएका छन् । प्रविधिको विकास भएको छ । मौलिक कथा र परिवेशमा बनेका केही चलचित्रले दर्शकको मन जितिरहेका छन् । तर पनि चलचित्र व्यावसायिक रुपमा सफल हुन सकेका छैनन् ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement