शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पढाइ ठप्प

आश्विन ४, २०८० |कान्तिपुर टीभी संवाददाता
शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पढाइ ठप्प

काठमाडौं । विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेका शिक्षकहरुले आज पनि प्रदर्शन गरेका छन् । शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा जुटेपछि देशभरका अधिकांश सामुदायिक विद्यालयमा पढाइ नियमित भएन ।

शिक्षकहरुले आज माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरी र शिक्षकबीच धकेलाधकेल भएको छ । शिक्षकहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले रोक्दा धकेलाधकेल भएको हो ।

नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षा विधेयकविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकहरुले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

आन्दोलनका कारण दिनभर माइतीघर-नयाँ बानेश्वर क्षेत्रको यातायात अस्तव्यस्त बनेको थियो ।

वार्तामा आउन सरकारले गरेको आग्रह शिक्षकहरुले अस्वीकार गरेका छन् । आफ्ना माग संसद्‌ले नै सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ ।

राष्ट्रिय मानवअधिकार आयोगले भन्यो- विद्यार्थीलाई पढ्ने अधिकारबाट वञ्चित गरिनु हुँदैन

यता विद्यालय नै बन्द गरेर शिक्षकहरु आन्दोलनमा उत्रिएपछि राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार विज्ञप्ति निकालेर आपत्ति जनाएको छ । आयोगले विद्यार्थीको पढ्न पाउने अधिकार वञ्चित गर्न नहुने भन्दै वार्ता र संवादमार्फत समस्याको समाधान गर्न भनेको छ । आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ ।

आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगले बताएको छ ।

विद्यालयका शिक्षक-शिक्षिकाहरुले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानवअधिकारको मूल्य-मान्यताअनुकूल हुने भए पनि आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन आयोगले भनेको छ ।

शिक्षकको प्रदर्शनले काठमाडौंको सवारी आवागमन आज पनि अस्तव्यस्त

‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन, मानव अधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना मागहरु राख्न, आफ्ना मागहरु पूरा गराउन विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कानुन निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन एवं नेपाल शिक्षक महासंघलगायत शिक्षक समुदायले उठाएका न्यायोचित मागहरुको सम्बोधन गर्न आयोगले सरकारलाई आग्रहसमेत गरेको छ ।

यो पनि...

विद्यालय ठप्पै पारेर काठमाडौंका सडकमा किन उत्रिए देशभरका शिक्षक ?

वार्तामा आउन शिक्षकहरुलाई माधव नेपालको आग्रह


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.