शिक्षकको प्रदर्शनले काठमाडौंको सवारी आवागमन आज पनि अस्तव्यस्त

आश्विन ४, २०८० |कान्तिपुर टीभी संवाददाता
शिक्षकको प्रदर्शनले काठमाडौंको सवारी आवागमन आज पनि अस्तव्यस्त

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा भएको दोस्रो दिनको प्रदर्शनले काठमाडौंमा सवारी आवागमन प्रभावित बनेको छ । जसका कारण यात्रुले घण्टौं जाममा बस्नु परेको छ ।

माइतीघर मण्डलमा भेला भएर उनीहरु पैदलै नयाँ बानेश्वर आइपुगेका छन् । उनीहरुले अहिले बानेश्वरको निषेधित क्षेत्र बाहिर नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । सडकमा बाक्लो संख्यामा शिक्षकहरु उत्रिँदा बानेश्वर-माइतीघर सडकको सवारी आवागमन पूर्णरुपमा अवरोध भएको छ । कार्यालय समयमै प्रदर्शन सुरु हुँदा सर्वसाधरणलाई थप असहज भएको हो ।

६० हजारभन्दा बढी शिक्षक प्रदर्शनमा सहभागी भएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीको दाबी छ । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाएको विधेयक संसदमा दर्ता गरेपछि त्यसमा असन्तुष्ट शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनको नेतृत्व शिक्षक महासंघले गरेको छ।

बुधबारदेखि शिक्षकहरु विद्यालय बन्दको घोषणा गरी आन्दोलनमा उत्रिएका हुन् । सरकारले ल्याएको उक्त विधयेक शिक्षकहरुको हकहित प्रतिकूल रहेको महासंघको ठहर छ । 

साथै यसले सबै प्रकारका शिक्षकहरुका मूल मुद्दा सम्बोधन गर्न नसक्ने महासंघले जनाएको छ । यस विधयेकले ट्रेड-यूनियनमाथि अंकुश लगाउनेसमेत उनीहरुको दाबी छ । महासंघको नेतृत्वमा भएको यस आन्दोलनमा उनीहरुले १७ बुँदे माग राखेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement