विद्यालय ठप्पै पारेर काठमाडौंका सडकमा किन उत्रिए देशभरका शिक्षक ?

आश्विन ३, २०८० |नारायण किलम्बू
विद्यालय ठप्पै पारेर काठमाडौंका सडकमा किन उत्रिए देशभरका शिक्षक ?

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । विधेयकप्रति स्थानीय तहको समेत असहमति छ । सरकारले भने वार्तामा आउन आग्रह गर्दा पनि शिक्षकहरूले अटेरी गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

देशभरका बालबाविकासदेखि कक्षा १२ सम्मका ३५ हजार विद्यालयमा ३ लाखभन्दा बढी शिक्षक–कर्मचारी कार्यरत छन् । विधेयकप्रति विरोध जनाउन उनीहरू विद्यालय नै बन्द गरेर काठमाडौं हिँड्दा ५० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प भएको छ ।

पेसागत हकहितको प्रतिकूल हुने गरी शिक्षा विधेयक ल्याइएको भन्दै नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षक–कर्मचारीहरू आन्दोलित भएका हुन् । शिक्षकको सरुवा, बढुवा, नियुक्तिलगायतको अधिकार स्थानीय तहमा रहने र संविधानले सुनिश्चित गरेको ट्रेड युनियन अधिकारसमेत खोसिने गरी विधेयक ल्याइएकोप्रति उनीहरूको आपत्ति छ ।

यतिखेर स्थायी, अस्थायी, करार, राहत, साबिक उच्च मावि, बालकक्षा शिक्षक, विशेष, अनुदान, प्राविधिक धारका शिक्षक आन्दोलनमा उत्रिएका छन् ।

शिक्षा विधेयकको विरोधमा राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरू पनि आन्दोलित छन् । विद्यालयका शिक्षक–कर्मचारीबाहेक शिक्षा विधेयकप्रति स्थानीय तहसमेत असन्तुष्ट छन् । गाउँपालिका महासंघ र नगरपालिका संघले संयुक्त विज्ञप्ति जारी गरी खारेज भैसकेको शिक्षा कार्यालय र शिक्षा विभाग लगायतका संरचना पुनः ब्युँताउन खोजिएकोमा आपत्ति जनाएका छन् । प्रधानाध्यापक छनोट पनि शिक्षा कार्यालयबाट गर्न खोज्नु संविधानविपरीत भएको उनीहरूको भनाइ छ ।

शिक्षा मन्त्रालयले भने शिक्षक–कर्मचारीको हकहितसँग सम्बन्धित सुझाव विधेयकमा समावेश गरिएको जनाएको छ । शिक्षकको आन्दोलनका कारण लाखौँ विद्यार्थीको पठनपाठन प्रभावित हुने भन्दै मन्त्रालयले संवादका माध्यमबाट समाधान गर्न तयार रहेकाले विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आग्रह गरेको छ ।

सरकारले शिक्षामन्त्रीको संयोजकत्वमा वार्ता समिति पनि गठन गरिसकेको छ । तर शिक्षक महासंघले भने विगतमा भएका सहमति र सम्झौता विपरीत शिक्षकहरुलाई विस्थापित गर्ने गरी विधेयक ल्याएकाले शिक्षामन्त्रीको नेतृत्वमा बनेको वार्ता समितिमा बस्न अस्वीकार गरेको छ ।

शिक्षक–कर्मचारीको आन्दोलनका कारण बुधबार काठमाडौंको नयाँबानेश्वरदेखि माइतीघरसम्मको यातायात ४ घण्टाभन्दा बढी प्रभावित बन्यो ।

यो पनि...

काठमाडौं महानगरले भन्यो- आन्दोलनमा नाममा विद्यालय बन्द गरे कारबाही

शिक्षकलाई बालेन्द्र शाहको चेतावनी- पढाइमा अवरोध पुर्‍याउनेलाई कारबाही हुन्छ

देशभरका विद्यालय बन्द गरेर काठमाडौंमा शिक्षकहरुको प्रदर्शन


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement