देशभरका विद्यालय बन्द गरेर काठमाडौंमा शिक्षकहरुको प्रदर्शन

आश्विन ३, २०८० |कान्तिपुर टीभी संवाददाता
देशभरका विद्यालय बन्द गरेर काठमाडौंमा शिक्षकहरुको प्रदर्शन

काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा देशभरका शिक्षकहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका हुन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । माइतीघरबाट सुरु भएको जुलुस बबरमहल, बिजुली बजार हुँदै नयाँ बानेश्वर पुगेको छ । शिक्षकहरुले निषेधित क्षेत्रबाहिर नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

‘शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर शिक्षकहरुले प्रदर्शन गरिरहेका छन् । ठूलो संख्यामा शिक्षकहरु सहभागी प्रदर्शनका कारण अहिले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विशेष गरी नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वरलगायतका क्षेत्रको यातायात सेवा प्रभावित भएको छ ।

प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीकाअनुसार सुरक्षा व्यवस्था कडा पारिएको छ । उनले भने, ‘सम्भावित अप्रिय घटनाका लागि हामी तयारी अवस्थामा छौँ ।’

देशभरका ३० हजार सरकारी विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलित बनेका हुन् । जसका कारण ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

सरकारले वार्तामा बस्न पटक–पटक गरेको आग्रहलाई अस्वीकार गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित सडक आन्दोलन थालेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले (हिजो) मंगलबार ३ बजे सरकारसँग वार्तामा आउन महासंघलाई आग्रह गरेको थियो । तर महासंघले सरकारले बोलाएको वार्तालाई बेवास्ता गर्दै सडक आन्दोलनमा उत्रिएको हो ।

शिक्षक महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेको छ । गत भदौ २७ गते सरकारले विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिकामातहत राख्ने व्यवस्था गरेको छ। पालिकामातहत राख्ने प्रावधानप्रति महासंघले असन्तुष्टि जनाउँदै आन्दोलित बनेको हो । महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग अघि सारेको छ । 

सम्बन्धित समाचार...

शिक्षा विधेयक २०८० : एसईई खारेजीको प्रस्ताव, शिक्षकलाई राजनीति निषेध (पूर्ण पाठ)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement