शिक्षकलाई बालेन्द्र शाहको चेतावनी- पढाइमा अवरोध पुर्‍याउनेलाई कारबाही हुन्छ

आश्विन ३, २०८० |कान्तिपुर टीभी संवाददाता
शिक्षकलाई बालेन्द्र शाहको चेतावनी- पढाइमा अवरोध पुर्‍याउनेलाई कारबाही हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शिक्षा विधेयकमा आफ्नो असहमति भए पनि पढाइमा अवरोध नपुर्‍याउन शिक्षकहरुलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर शाहले पठनपाठनमा अवरोध पुर्‍याए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउनु होला । यस्ता अवरोध पुर्‍याउनेहरुलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ ।’

उनले काठमाडौंको शिक्षा नीति र जुम्लाको शिक्षा नीति फरक हुने पनि जनाएका छन् । ‘शिक्षा विधेयकमा हाम्रो नि असहमति छ । लगभग दुई लाख ५० हजार हजार विद्यार्थी तथा १०,००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ,’ उनले भनेका छन्, ‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौंको शिक्षा को नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छन् ।’

देशभरका विद्यालय बन्द गरेर काठमाडौंमा शिक्षकहरुको प्रदर्शन

उनले राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेको भन्दै आफूले स्वीकार नगर्ने जनाएका छन् । ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्‌मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेकाले किमार्थ स्वीकार गर्न सकिँदैन,’ मेयर शाहले भने, ‘स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौं ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement