
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले जेन-जी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीकार्न नसकेको बताउनुभएको छ ।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रूपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रूपले पुनःगठन गरेर अगाडी बढ्नेगरी आफू लागेको भए पनि सफल हुन नसकेको बताउनु भयो ।
उहाँले नेतातन्त्र, भ्रष्टाचार विरोधी जगमा जेन-जी विद्रोह भएकोले यसलाई स्वीकार गर्दै पार्टीलाई रूपान्तरण गर्ने कोसिसहरू पार्टीभित्र असफल भएको उहाँको भनाइ छ । उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाउनु भयो ।
सिमित एक वा दूई नेताहरूको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी एकताको नाटक गरिएको उहाँको भनाइ छ । उहाँले एकताका नाममा आमजनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयासहरू भइरहेको बताउनु भयो ।
प्रगतिशील अभियान नेपाल सञ्चालन गर्ने घोषणा
जेन-जी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरित भइरहेको एकताप्रति सहमत नभएर आफूहरूले नयाँ अभियान सञ्चालनको थालनी गरेको उहाँले बताउनु भयो । उहाँले प्रगतिशील अभियान नेपाल सञ्चालन गर्ने जानकारी दिनुभयो । राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात् गर्ने, उत्पिडित वर्गा, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्याप्रति प्रतिबद्ध भएको अभियान सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।
उहाँले अभियानले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात् गर्ने, उत्पिडित वर्गा, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्याप्रति प्रतिबद्ध भएको त्यस्तो अभियान हामी सञ्चालन गर्न गइरहेका छौँ ।’