नेपालमा आएर एमबीबीएस अध्ययन गर्न चाहने विदेशी विद्यार्थीको संख्या बढ्दाे

कार्तिक १५, २०८२ |नारायण किलम्बू
नेपालमा आएर एमबीबीएस अध्ययन गर्न चाहने विदेशी विद्यार्थीको संख्या बढ्दाे

काठमाडौं । नेपालमा आएर चिकित्सा शिक्षाको एमबीबीएस अध्ययन गर्न चाहने विदेशी विद्यार्थीको संख्या बढेको छ । 

यो वर्ष एमबीबीएस अध्ययनका लागि भारत, अमेरिकासहित ५ देशका १४ सय ८२ विद्यार्थीले आवेदन दिएका छन् । चिकित्सा शिक्षा आयोगले शनिबार लिएको एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा १ सय ८६ जना विदेशी विद्यार्थी सहभागी भए भने १२ सय ९६ जनाले आफ्नै देशको राष्ट्रिय परीक्षा उत्तिर्ण गरेकाले आवेदन दिएका हुन् ।

चिकित्सा शिक्षा आयोगले शनिबार काठमाडौंका ६५ वटा परीक्षा केन्द्रमा प्रवेश परीक्षा लिएको छ । यो परीक्षामा १७ हजार ४ सय ६० विद्यार्थी सहभागी भएका छन् । तीमध्ये १ सय ८६ विदेशी विद्यार्थी छन् । १२ सय ९६ विदेशी विद्यार्थीले आफ्नो देशको राष्ट्रिय परीक्षा पास गरी एमबीबीएस अध्ययनका लागि आवेदन दिएका हुन् । १७ हजार २ सय ७४ जना नेपाली विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

चिकित्सा शिक्षाअन्तगर्त स्नातक तहको एमबीबीएस अध्ययन अध्यापन हुने २६ वटा शिक्षण संस्थामा २६ सय ३५ सिट छन् । अध्ययनका लागि एकीकृत प्रवेश परीक्षा पास हुनुपर्छ । आयोगका अनुसार गतवर्ष ११ सय ३२ विदेशी विद्यार्थीले आवेदन दिएका मध्ये करिव ५ सयले एमबीबीएसमा भर्ना पाएका थिए । यो वर्ष भारत, अमेरिका, श्रीलंका, क्यानडा र अस्ट्रेलियाका १४ सय ८२ विद्यार्थीले आवेदन दिएका छन् । प्रवेश परीक्षा दिने विदेशी विद्यार्थीमध्ये ९० प्रतिशतभन्दा बढी भारतका छन् ।

गतवर्ष विदेशमा एमबीबीएस अध्ययन गर्न ३ सय १६ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए । विदेश अध्ययन गर्न जानेभन्दा विदेशबाट आउनेहरुको संख्या बढेकाले नेपालको एमबीबीएस शिक्षामा आकर्षण बढेको देखिने आयोगले जनाएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।