काठमाडौं महानगरले भन्यो- आन्दोलनमा नाममा विद्यालय बन्द गरे कारबाही

आश्विन ३, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौं महानगरले भन्यो- आन्दोलनमा नाममा विद्यालय बन्द गरे कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको छ । महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ ।

‘प्रचलित कानुनविपरीत हुने विद्यालय बन्द नगर्न अनुरोध गर्दै काठमाडौं महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने व्यहोरा जानकारीका लागि निर्देशानुसार अनुरोध छ,’ शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि पनि काठमाडौं महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द हड्ताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हड्तालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।

शिक्षा विधेयकमा असहमति छ तर पढाइमा अवरोध नपुर्‍याउनुहोला : बालेन्द्र शाह

यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शिक्षा विधेयकमा आफ्नो असहमति भए पनि पढाइमा अवरोध नपुर्‍याउन शिक्षकहरुलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत मेयर शाहले पठनपाठनमा अवरोध पुर्‍याए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउनु होला । यस्ता अवरोध पुर्‍याउनेहरुलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ ।’

उनले काठमाडौंको शिक्षा नीति र जुम्लाको शिक्षा नीति फरक हुने पनि जनाएका छन् । ‘शिक्षा विधेयकमा हाम्रो नि असहमति छ । लगभग दुई लाख ५० हजार हजार विद्यार्थी तथा १०,००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ,’ उनले भनेका छन्, ‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौंको शिक्षा को नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छन् ।’

विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित

यसैबीच सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंको माइतीघरमा शिक्षकहरुले प्रदर्शन गरेका छन् । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरु बुधबार माइतीघरमा भेला भई आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो । संसद्‌मा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

उनीहरुले विद्यालयका शिक्षक, कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement