
काभ्रेपलाञ्चाेक । २०७२ सालको भूकम्पपछि सरकारले क्षति पुगेका सरकारी विद्यालयको पुनर्निर्माण गर्न कार्यालय नै स्थापना गरेर काम थाल्यो ।
काभ्रेका ६ सय ९० मध्ये ५ सय ८७ वटा विद्यालयमा भूकम्पले पूर्ण र आंशिक क्षति पुगेको थियो । तीमध्ये ४८ वटा विद्यालयको पुनर्निर्माण नसकिँदै कार्यालय खारेज भएपछि पठनपाठनमा बाधा त छँदैछ पुनर्निर्माणको अन्योलसमेत बढेको छ ।
२०७२ सालको भूकम्पपछि निर्माण सुरू गरिएको ५ सय ८७ विद्यालय मध्ये ४८ वटा विद्यालय भवन अहिले पनि बजेट अभावका कारण अधुरै छन्। विद्यालयको भवन अन्योल हुँदा व्यवस्थापन समिति र शिक्षक पठन-पाठनमा समस्या भएको गुनासो गर्छन्। भूकम्पपश्चात् राज्यले नै निर्माण सुरू गरेको विद्यालयहरू अझै निर्माण सम्पन्न हुन नसक्दा विद्यालयले दैनिक पठन-पाठनमै समस्या झेल्दै आएका छन्।
बेथानचोक गाउापालिकाको केन्द्रमा रहेको पार्वती माध्यमिक विद्यालयमा प्राविधिक तर्फ कक्षा १२ सम्म र अन्य क्षेत्रमा स्नातकसम्म पढाइ हुने गर्छ। विद्यालयको भवन निर्माण रोकिएको ५ वर्ष भइसकेको छ। तर सरकारी संयन्त्र कसैको चासोमा नपर्दा विद्यालयको भवन अलपत्र छ ।
विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माका अनुसार नेपाल सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेर २०७४ साल असार २५ गते नमुना विद्यालय विकासअन्तर्गत थालिएको भवन शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रको अनुदानबाट निर्माण थालिएको हो। ५ वर्षपछि अनुदान रोकिएको उनको गुनासो छ भने गुणस्तरीय शिक्षा लिन पाउने नागरिकलाई सेवा दिन नसकिएको बताउनुभयो।
२०७२ को भूकम्पमा क्षतविक्षत बनेको गोकुले माविको भवन पनि अझै अन्योल नै छ । यो प्रतिनिधि विद्यालय मात्र हो। जिल्लाका ४८ विद्यालय अहिले पनि अलपत्र रहेका छन्। केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको जिल्ला कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाई -शिक्षा काभ्रेले प्रकाशन गरेको वार्षिक बुलेटिन अनुसार ४८ वटा विद्यालय रनिङ रहेका तथ्याङ्कमा देखिन्छ भने ती सबै पार्वती मावि झैं अन्योलमै छन्।
४८ विद्यालय रनिङ रहेको विवरण अन्तिम पटक २०७८ मा निकालिएको प्रतिवेदनमा स्पष्ट लेखिएको छ। तर कार्यालयसमेत जिल्लाबाट खारेज गरिएकाले भवन कसरी अघि लैजाने भन्ने अन्योल कायम नै छ । महाभारतमा पनि भूकम्पपछि निर्माण प्रारम्भ गरिएको तीन विद्यालय अन्योलमै छन्।
वडा नं. १ गोकुलेको गोकुले मावि र अन्य वडाका विद्यालयका भवन लामो समय भइसके पनि निर्माण नसकिएको विषयमा पालिकाले बारम्बार ताकेता गर्दा पनि कार्यालय खारेजीका कारण बजेट व्यवस्थापन हुन नसक्दा अझै भवन अन्योलमै रहेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।
यी दुई प्रतिनिधि विद्यालय हुन् भने जिल्लाका १३ वटै पालिकामा कुनै-कुनै विद्यालय भवन अन्योलमै छन्। भने ती भवनहरूको शिक्षा समन्वय इकाईले कर्मचारी नियुक्ति गरेर भवन सम्पन्नको कार्य प्रारम्भ गर्ने इकाई प्रमुख सबिता ढुंगेल बताउनुहुन्छ ।
शिक्षा जस्तो संवेदनशील क्षेत्रमा भएको यो खालको वेथिति अन्त्य गर्नका लागि तिनै तहका सरकारसँगै सरोकारवाला कार्यालयले समेत जिम्मेवार हुनै पर्छ।