त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने

कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताउनुभएको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि साेमबार पत्रकार सम्मेलन आयोजना गरी उहाँले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइने बताउनुभयो । “त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको अवस्था रहेको छ । समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने छ । मन्त्रालयबाट सल्टाउन नसकिने विषयको थप छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा लेखी पठाइनेछ”, मन्त्री पुनले भन्नुभयो ।

त्रिविको जग्गा खोजबिनसम्बन्धी समितिको प्रतिवेदन अपूरो रहेको उल्लेख गर्दै उहाँले अझै गहन छानबिन गर्न गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । समितिको सिफारिसलाई नै टेकेर अर्को छानबिन समिति बनाउने तयारी गरिएको उहाँको भनाइ छ ।

यस्तै सुदूरपश्चिम विश्वविद्यालयको धेरै जग्गा हड्पेको भन्ने उजुरी मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै उहाँले त्यसका लागि पनि छानबिन समिति गठन गरिने बताउनुभयो । मन्त्री पुनले पछिल्लो समय प्रविधिको विकास भएअनुसार हाम्रा विद्यार्थी पछि नपरून् भनेर माध्यमिक तहसम्म एक सय पूर्णाङ्कको ‘कम्प्युटर’ विषय थप गर्ने निर्णय भएको जानकारी दिनुभयो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.