४ हजारभन्दा बढी सामुदायिक विद्यालय दरबन्दीविहीन

जेष्ठ ४, २०८० |नारायण किलम्बू
४ हजारभन्दा बढी सामुदायिक विद्यालय दरबन्दीविहीन

भक्तपुर । सरकारले सबैका लागि शिक्षाको उद्देश्य पूरा गर्न विद्यालयहरु स्थापना र विस्तारमा जोड दिँदै आएको छ । तर, नयाँ दरबन्दी व्यवस्थापन गर्न चासो नदिँदा मुलुकभरका ४ हजारभन्दा बढी सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । यसले शिक्षण सिकाई र गुणस्तरमा समेत समस्या उत्पन्न भएको छ।

गाउँघरमै शिक्षा दिने उदेश्यले स्थापना भएको भक्तपुरको सिरुटारस्थित कुलमाया भगवति विद्यालयमा कक्षा ९ र १० मा ५० विद्यार्थी छन् । माध्यमिक तहका लागि गणित, विज्ञान र अंग्रेजी गरी ५ विषयका शिक्षक आवश्यक छ । तर, दरबन्दीका एक जना पनि नहुँदा वर्षौंदेखि तल्लो तहका शिक्षकहरुले पठनपाठन गर्दै आएका छन् । जसले गर्दा शिक्षण सिकाइमा समेत समस्या परेको छ । 

देशभरका ४ हजार २ सय विद्यालयमा शिक्षक दरबन्दी नभएको शिक्षा मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये आधारभूत तहको कक्षा ६ देखि ८ तहका २६ सय र मावि तहका १७ विद्यालयमा सरकारले दरवन्दी दिन सकेको छैन । त्यसैगरी कक्षा ११ र १२ मा पनि दरवन्दीका शिक्षक उपलव्ध गराउन सकेको छैन । सरकारले दुर्इ हजार ५६ सालदेखि नयाँ दरवन्दी सृजना नगर्दा शिक्षक उपलव्ध गराउन नसकेको शिक्षा मन्त्रालयको स्वीकारोक्ति छ ।

दरवन्दी नभए पनि कतिपय विद्यालयहरुले विद्यार्थीको भविष्यलार्इ ध्यानमा राखि निजी स्रोतबाट शिक्षक व्यवस्थापन गरि जेनतेन चलार्इ रहेका छन् ।

त्यसो त सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनःवितरण कार्यदलको प्रतिवेदनले आधारभूत तहको ६ देखि ८ मा २५ हजार तथा माध्यामिक तहको ९ र १० मा २३ हजार शिक्षक दरवन्दी अभाव रहेको देखाएको थियो । ती विद्यालयमा विद्यार्थीको शिक्षण सिकार्इमा साहै कमजोर देखिएका छन् । त्यसैले दरबन्दी नभएका विद्यालयमा शिक्षकको व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तीन वटै सरकार गम्भीर हुनु जरुरी छ ।

थप...

शिक्षकलाई नृत्य, संगीत र चित्रकला सिकाइँदै
पाठ्यसामग्री छपाइका लागि अबदेखि अनिवार्य रुपमा स्वीकृत लिनुपर्ने


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।