पाठ्यसामग्री छपाइका लागि अबदेखि अनिवार्य रुपमा स्वीकृत लिनुपर्ने

वैशाख ३१, २०८० |नारायण किलम्बू
पाठ्यसामग्री छपाइका लागि अबदेखि अनिवार्य रुपमा स्वीकृत लिनुपर्ने

काठमाडौं । पूर्वप्राथमिक तह प्ले ग्रुपदेखि यूकेजीसम्मका पाठ्यसामग्री निजी संस्थाहरुले मात्र प्रकाशन गर्दै आएका छन् । त्यस्ता प्रकाशन संस्थाहरु पाँच दर्जनभन्दा बढी छन् । अधिकांशले पाठ्यक्रम विकास केन्द्रसँग अनुमति नलिइ पाठ्यसामग्री राखेर छपाइ तथा बिक्रीवितरण गर्दै आएका छन् । 

विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापद्वारा बालबालिकालाई मायालु ढंगबाट सिकाइनु पर्नेमा कतिपय प्रकाशकले अनावश्यक पाठ्यवस्तु राख्ने गरेको पाइएपछि पाठ्यक्रम विकास केन्द्रले कडाइ गर्न लागेको हो । शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने व्यवस्थाले विषयवस्तु र मूल्यमा समेत एकरुपता आउने शिक्षा मन्त्रालयको दाबी छ ।

मुलुकमा ३० हजार ४ सय ५० सरकारी र ६ हजार ४८ निजी पूर्वप्राथमिक विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा १० लाख विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयले समेत निजी प्रकाशन संस्थाका पाठ्यसामग्री राख्ने गरेका छन् । त्यस्ता पुस्तक महँगोमात्र नभइ एकरुपतासमेत नभएकाले नियमन गरिनु सकारात्मक रहेको विद्यालय सञ्चालक र अभिभावकहरुको समेत धारणा छ ।

यस्तै, विदेशी शैक्षिक संस्थाको सम्वन्धनमा सञ्चालित विद्यालयमा समेत सरकारको अनुमतिप्राप्त पाठ्यसामग्री राख्नुपर्ने भएको छ ।

साना बालबालिका अध्ययन गर्ने पूर्वप्राथमिक तहमा रमाइलो वातावरणमा पठनपाठन गराउनुपर्छ । यस्ता विद्यार्थीका लागि तयार पारिएका पाठ्यसामग्रीमा एकरुपता त आवश्यक छ नै, सरल र सहज पनि हुनुपर्छ ।

थप...

शिक्षा क्षेत्रको बजेटमा २३ अर्ब कटौती


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।