शिक्षकलाई नृत्य, संगीत र चित्रकला सिकाइँदै

जेष्ठ २, २०८० |अमृता अनमोल
शिक्षकलाई नृत्य, संगीत र चित्रकला सिकाइँदै

बुटवल । विद्यालयको शिक्षण सिकाई सुधार गर्न र विद्यार्थीमा चौतर्फी विकास गर्न के गर्नुपर्ला ? यसका उपाय धेरै हुन सक्छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले भने शिक्षकलाई सामाजिक तथा सिर्जनात्मक कला शिक्षण तालिम नै दिएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका यी शिक्षकहरू आफ्नो खुसी वा खुबी देखाउन संगीत सिक्न तल्लीन भएका होइनन् । विद्यालयको शिक्षण सिकाइ सुधार गर्न र विद्यार्थीलाई सांगीतिक माध्ययमबाट सिकाउन संगीत सिकेका हुन् ।

‘संगीतको यो तालिमले प्रत्येक शिक्षकलाई विद्यालयमा आफ्ना बालबालिकाहरुमाझ कसरी प्रस्तुत हुने भन्ने कुरा सिकाएको छ,’ प्रभात आधारभूत विद्यालयकी शिक्षिका रेनुका पाण्डे भण्डारीको भनाइ छ । यस्तै गौतम बुद्ध माविकी शिक्षिका यमुना भट्टराई यसले आफूहरुलाई सहज भएको प्रतिक्रिया दिन्छिन् ।

तिलोत्तमामा ४२ वटा सामुदायिक विद्यालय छन् । सांगीतिक माध्ययमबाट विद्यार्थीलाई पढाइमा केन्द्रित गर्न नगरपालिकाले सबै विद्यालयका एक-एक शिक्षकलाई लोकबाजा, लोकगीत, तथा चित्रकलासम्बन्धी आधारभूत सीपमा आधारित एक साताको प्रशिक्षण दिएको छ । नयाँ कला सिक्न र विद्यार्थीमा प्रयोग गर्न पाउँदा शिक्षक खुसी छन् ।

‘विद्यालयमा जागिर गरेको ३० वर्ष भयो । यसअघि यस्तो सांगीतिक तालिम मैले लिएको थिएन,’ जनता माविका शिक्षक धनिराम चौधरीले भने । उनका अनुसार तालिम एकदमै प्रभावकारी भएको छ ।

शैक्षिक पाठ्यक्रमका विषयवस्तु समेटेर आयोजना गरिएको सामाजिक तथा सिर्जनात्मक कला शिक्षण तालिममा साधना सांस्कृतिक कला केन्द्रका कलाकारहरू सहजीकरणमा खटिए । यो खटाइबाट शिक्षकमा ऊर्जा थपिएको मात्र छैन तिलोत्तमाले सुरु गरेको शैक्षिक सुधार कार्यक्रम सफल बन्ने अपेक्षा गरिएको छ ।

आफूहरुले शिक्षकहरुलाई आधारभूत सीपअन्तर्गतका सीप सिकाएको प्रशिक्षक, कलाकार अनु रजकको भनाइ छ ।

‘कलामार्फत विद्यार्थीलाई बुझाउन सजिलो हुने भएकाले तालिमको आयोजना गरिएको हो,’ तिलोत्तमा नगरपालिका रुपन्देहीकी उपप्रमुख जगेश्वरीदेवी चौधरीले भनिन् ।

परम्परागत सिकाइ र विषयवस्तुको रटाइले विद्यार्थीहरू सिर्जनात्मक बन्न नसक्ने र पढाइमा ध्यान नदिने समस्या बढेको छ । यस्तो बेलामा तिलोत्तमाका विद्यालयमा थालिएको शिक्षकलाई दिइएको सामाजिक तथा सिर्जनात्मक कला शिक्षण तालिम अन्य विद्यालयमा पनि गर्न सके सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र सिकाइ उपलब्धि बढाउन सहज हुनेछ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।