शिक्षा क्षेत्रको बजेटमा २३ अर्ब कटौती

वैशाख २८, २०८० |नारायण किलम्बू
शिक्षा क्षेत्रको बजेटमा २३ अर्ब कटौती

काठमाडौं । अहिले बजेटको मौसम छ । तपाईलाई थाह छ, सरकारले आफ्नो वार्षिक बजेटमा शिक्षा क्षेत्रका लागि कति प्रतिशत बजेट छुट्याउँछ ? शिक्षा क्षेत्रमा कुल बजेटको करिब २० प्रतिशत छुट्याउनुपर्ने माग हुँदै आए पनि अहिलेसम्म सरकारले करिब १० प्रतिशत मात्र दिँदै आएको छ ।

अझ आगामी आर्थिक वर्षमा त शिक्षा क्षेत्रको बजेट बढ्नुको सट्टा झन् २३ अर्ब रुपैयाँ कटौती हुने भएको छ ।

आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा १ खर्ब ७३ अर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ । जबकि चालु आर्थिक वर्षका लागि यो क्षेत्रमा १ खर्ब ९६ अर्ब छ । सरकारले दिएको सिलिङका आधारमा शिक्षा मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षा र जीवन उपयोगी सिप विकास जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । तर चालु आर्थिक वर्षको तुलनामा ११ प्रतिशतले बजेट कटौती हुने देखिएपछि शिक्षाका अधिकारी चिन्तित छन् ।

शिक्षा मन्त्रालयले आर्थिक सङ्कटको कारण देखाउँदै संघीय सरकारबाट ७० अर्बबाट ५६ अर्ब, प्रदेश सरकारतर्फ ५ अर्बबाट साढे ३ अर्ब र स्थानीय तहतर्फ १ खर्ब २१ अर्बबाट १ खर्ब १३ अर्बमा सीमित हुने गरी बजेट सिलिङ पाएको हो ।

सबैभन्दा धेरै बजेट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ८ अर्बबाट ४ अर्ब अर्थात ५० प्रतिशत बजेट कटौती हुने छ ।

सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष भने कुल बजेटको २० प्रतिशत शिक्षामा छुट्याउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस विपरित भएको बजेटमा १० प्रतिशतभन्दा बढी कटौतीको तयारीले मुलुकको उन्नति र विकासमा समेत दीर्घकालीन प्रभाव पुग्ने विज्ञको बुझाइ छ ।

विश्वविद्यालयहरुले उच्चशिक्षालाई अनुसन्धान र रोजगारीसँग जोड सकेका छैनन् । जसले गर्दा हरेक वर्ष १ लाखभन्दा बढी विद्यार्थी उच्चशिक्षा लिन बिदेसिने गरेका छन् । अझ बजेट कटौती गर्दा अन्य शैक्षिक कार्यक्रमसमेत प्रभावित नहोलान् भन्न सकिन्न ।

थप...

मौद्रिक नीतिको समीक्षा गर्ने राष्ट्र बैंकको तयारी, ब्याजदर खुकुलो बनाउन अर्थमन्त्रीको दबाब
मौद्रिक नीति छिटै खुकुलो हुन्छ : अर्थमन्त्री महत
अर्थमन्त्रीसँग एफएनसीसीआईको माग- उत्पादनमूलक उद्योगमा कर छुट होस्
मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छ : अर्थमन्त्री महत


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।