
काठमाडौं । बैंकको ऋण प्रवाहको विषयलाई लिएर बैंकर पक्राउ परेपछि बैंकिङ क्षेत्र नै त्रस्त बनेको छ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जनालाई प्रहरीले आइतबार बैंकिङ कसुरको आरोपमा कार्यालयबाटै पक्राउ गरेको हो। बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा प्रक्राउ गरिएका प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसहितका अन्य अधिकारीहरुलाई प्रहरीले अनुसन्धान जारी राखेको छ।
बैंकिङ क्षेत्र भने शेरचन लगायतको पक्राउको घटनाले त्रसित भएको छ। आइतबार नियन्त्रणमा लिएपछि अनुसन्धान जारी राखेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बताएको छ । प्रहरीले प्रमुख कार्यकारी अधिकृतसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठले राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी बैंकलाई हानी नोक्सानी पुर्याएको भन्दै त्यसमा अनुसन्धानका लागि पक्राउ गरेको हो ।
साथै कानुनविपरित कर्जा प्रवाह भएको कुरा विभिन्न कम्पनीको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने गराउने कसुरमा संलग्न रहेको आरोपमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।
प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा अनुसन्धान गरिरहेको सीआइबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत रहेका भट्टचन हिरासतमुक्त भइसके पनि अदालतमा मुद्दा विचाराधीन छ। लामाकै जाहेरीका आधारमा शेरचन र अन्यलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
यता नेपालको नीजि क्षेत्र तथा बैंकरहरुले कान्तिपुर टेलिभिजन सँगको कुराकानीमा एउटा बैंकको कार्यकारी अधिकृतलाई सामान्य सोधपुछबाट सल्झाउन सकिने विषयलाई नियन्त्रणमा लिएर त्रास सिर्जना गरेको बताएका छन् । बजारमा कर्जाको माग नभईरहेको अवस्थामा यो घटनाले प्रमुख कार्यकारी अधिकृतहरुको निर्णय क्षमतामा अझै ह्रास आउने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकको भनाइ छ ।
बैंकका सूचकहरु राम्रा रहेको हुँदा निक्षेपकर्ता आत्तिनु नपर्ने उहाँको सुझाव छ। वाणिज्य बैंकको नेतृत्व तहका अधिकारी पक्राउको विषयले बैंकका सञ्चालक र निक्षेपकर्ताहरु भने सशंकित बनेका छन्।